हाउस अफ रिप्रेजेन्टेटिभ्सको बैठक रद्द

एजेन्सी

विहीबार, २० फागुन २०७७, १० : ३९
हाउस अफ रिप्रेजेन्टेटिभ्सको  बैठक रद्द

अमेरिकी संसदको तल्लो सदन अर्थात् ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’को बिहीबारका लागि निर्धारित बैठक रद्द गरिएको छ । गुप्तचर विभागबाट प्राप्त सूचनाका आधारमा बैठक रद्द गरिएको हो ।

अमेरिकी अखबार वासिंटन पोस्टका अनुसार कुनै आक्रामक स्थानीय समूह बिहीबार ‘क्यापिटल’ (अमेरिकी संसद) मा प्रवेशका लागि प्रयास गर्ने सूचनायुक्त चेतावनी प्रहरीले प्राप्त गरेको थियो ।

सोही चेतावनीपछि क्यापिटल भवन बाहिर प्रहरीको अतिरिक्त टोली परिचालन गरिएको छ । प्रहरीले कुनै पनि सम्भावित खतराका लागि आफू तयार रहेको जनाएको छ ।‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ को निर्धारित बैठक रद्द भए पनि सोही भवनमा रहेको सीनेटले भने नियमित कारवाही अघि बढाउने भएको छ ।

सीनेटमा राष्ट्रपति जो बाइडेनद्वारा पेश गरिएको १.९ ट्रिलियन डलरको ‘कोभिड राहत बिल’ माथि बहस गर्ने बिहीबारको कार्यसूची छ ।क्यापिटल पुलिसका अनुसार राज्य प्रहरी, स्थानीय प्रहरी र केन्द्रीय एजेन्सीहरुसँग मिलेर त्यस्तो कुनै पनि सम्भावित घटना रोक्नका लागि प्रयास भइरहेको छ । ‘हामीले गुप्तचरमार्फत जुन जानकारी पाएका छौं, त्यसलाई निकै गम्भीरतापूर्वक लिएका छौं ।

हामीले पाएका जानकारीलाई गम्भीरतापूर्वक लिँदै तिनलाई प्रेससामु उजागर गर्न सक्दैनौं,’ क्यापिटल पुलिसका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।जनवरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकको एउटा समूह प्रहरी सुरक्षा घेरालाई तोड्दै क्यापिटल भवनमा प्रवेश गरेको थियो । त्यतिबेला अधिकांश अमेरिकी संसद क्यापिटल भवन मै थिए ।

प्रतिक्रिया दिनुहोस