नाइजेरिया । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् ।देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् । अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ ।
उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । “अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ,” जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाले भने ।
उनले बालिकाहरु सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद रहेको पनि बताए । नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन् ।
अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए । तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो ।
भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा हालैका वर्षहरुमा निकै उपद्रो मच्चाइरहेका छन् । उनीहरुले मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन् ।
नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन् ।
गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो । यो क्षेत्र राष्ट्रपति मुहम्मदु बुहारीको गृहराज्य काट्सिनामै रहेको छ । तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए ।
तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो । सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन् ।(रासस-एएफपी)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १८ फागुन २०७७, १५ : १४
लेखकबाट थप