कलकत्ता आइपुग्यो साढे २२ हजार मेट्रिक टन मल, नेपाल ल्याउन धमाधम ‘प्याकिङ’ हुँदै

सफल खबर संवाददाता

सोमबार, १७ फागुन २०७७, १४ : ०२
कलकत्ता आइपुग्यो साढे २२ हजार मेट्रिक टन मल, नेपाल ल्याउन धमाधम ‘प्याकिङ’ हुँदै

काठमाडौँ । सरकारले बङ्गलादेशबाट खरिद गरेको पहिलो चरणको युरिया मल कलकत्ता बन्दरगाह आइपुगेको छ । ढुवानीकर्ता संयुक्त अरब इमिरेट्स यूएई को कम्पनी जेन्ट्रेड एफजेडएफले बंगलादेशको कारखानाबाट साढे २२ हजार मेट्रिक टन मल कलकत्ता ल्याइसकिएको कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी राजेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

पहिलो चरणमा २० हजार मेट्रिक टन मल ल्याउने भने पनि साढे २२ हजार मेट्रिक टन मल ल्याइएको हो । ‘जहाजको क्षमता नै साढे २२ हजार भएकोले पहिलो चरणमा साढे २२ हजार मेट्रिक टन मल कलकत्ता ल्याइसकेका छौँ । धमाधम बोरोमा ‘प्याकिङ’ भइरहेको छ । अर्को शुक्रबार नेपाल ल्याउन सुरु हुन्छ ।’

उनका अनुसार बङ्गलादेशदेखि ल्याइएको साढे २२ हजार मेट्रिक टन मल विराटनगर, वीरगन्ज र भैरहवामा झारिने छ ।  बङ्गलादेशबाट पहिलो लटमा साढे २२ हजार मेट्रिक टन मल ल्याइन लागेको हो ।

नेपाल सरकारले बंगलादेशको सरकारसँग ५० हजार मेट्रिक टन युरिया मल किन्नका लागि २०७७ पुस २ गते ‘जी टू जी’ सम्झौता गरेको थियो। ५० हजार मेट्रिक टन मध्य पहिलो लटमा साढे २२ हजार मेट्रिक टन ल्याइन लागेको हो । अरू साढे २७ हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया केही समयपछि सुरु हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस