लक्ष्यविहीन पर्यटन सूचना केन्द्र

रासस

शनिबार, ०८ फागुन २०७७, १३ : ४१
लक्ष्यविहीन पर्यटन सूचना केन्द्र

इलाम। पूर्वनिर्धारित लक्ष्यअनुरुप काम गर्ने पर्यटन सूचना केन्द्र यसपटक लक्ष्यविहीन काम गरिरहेको छ । गत वर्षसम्म लक्ष्यअनुसार पर्यटक गणना काम गरिरहेको सूचना केन्द्र यसपटक भने विनालक्ष्य  गणनामा लागेको हो ।

इलाम भित्रिनेको गणनाका लागि इलाम र झापाका बीच सिमाना पर्यटन सूचना केन्द्र राखिएको छ । यहाँ दर्ता भएपछि मात्र पर्यटक इलाम भित्रिन्छन् । कोरोना महामारीको निहुँमा सूचना केन्द्र पर्यटक गन्ने काम प्रभावकारी रुपमा गरेको छैन । 
    

आर्थिक वर्ष २०७५/०७६ मा जिल्लामा एक लाख ३४ हजार ७७ जना पर्यटक भित्रिएको तथ्याङ्क छ । जसमा आन्तरिक पर्यटकमात्रै एक लाख ३३ हजार ४९७ जना छन् । बाह्य भने ५८० जना रहेको पर्यटन सूचना केन्द्र जोरकलशका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिए। 
    
उनका अनुसार आव २०७६/०७७ मा एक लाख २९ हजार २० जना पर्यटक भित्रिएका छन् । जसमा आन्तरिक पर्यटक मात्रै एक लाख २८ हजार ६४ जना छन् भने बाह्य पर्यटकको सङ्ख्या ९५६ जना छन् । 

जिल्ला भित्रिने पर्यटकको तथ्याङ्क राख्न केन्द्रले गणना गरे पनि बास्तविक तथ्याङ्क आउने गरेको छ । केन्द्रले ठूला सवारीका पर्यटक गन्नाले साना सवारीमा आउने पर्यटक छुट्ने गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस