कांग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन : नेता केसी

रासस

सोमबार, ०३ फागुन २०७७, २० : ५६
कांग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन : नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो । 

संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उहाँले उल्लेख गर्नुभयो । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिनुभयो । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको उहाँको भनाइ थियो । 

 कांग्रेस विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने उहाँले स्पष्ट पार्नुभयो । संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु कांग्रेसका सामु अहिलेको मुख्य चुनौती भएको नेता केसीको भनाइ थियो । 

काँग्रेस जिल्ला कार्यसमिति काठमाडौँका सभापति सबुज बानियाँको सभापतित्वमा भएको विरोधसभामा कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले काँग्रेसलाई जनमत लिनका लागि जनतामाझ जान कुनै डर नभएको स्पष्ट पार्नुभयो । काँग्रेस नेताहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीलगायतले समेत आफ्नो धारणा राख्नुभएको थियो । 

बैतडी – कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले सिङ्गो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताउनुभएको छ । आज सदरमुकामस्थित गोठलापानीमा कांग्रेसले आयोजना गरेको विरोधसभामा उहाँले भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको बताउनुभयो ।  

प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरुले अहिले आन्दोलन नगरेको बताउनुभयो । केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ उहाँले भन्नुभयो, “यसअघि गृह मन्त्रीलाई घटनाको विषयमा ध्यानाकर्षण गराइसकेका छौँ, उहाँले छिट्टै दोषी पत्ता लाग्ने बताउनुभएको छ ।”

दार्चला – कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले नयाँ नक्शाअनुसारको भूमि नेपालमा ल्याउन सरकारलाई आह्वान गर्नुभयो । दार्चुलामा आज आयोजित विरोधसभा नेतृ संग्रौलाले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा ल्याएर सस्तो लोकप्रियता कमाउनुभन्दा भूमी फिर्ता ल्याएर सीमाका नागरिकलाई गर्व महसुुस दिलाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नभयो, “देशका भू–भाग र सीमा रक्षाका बारे कांग्रेस स्पष्ट, छ र सरकार पनि स्पष्ट हुनुपर्छ ।” 

चितवन–नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताउनुभयो । 

संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भन्नुभयो, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो । सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताउनुभयो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस