म्यानचेष्टर युनाइटेड र एभरटन बराबरी

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १२ : ११
म्यानचेष्टर युनाइटेड र एभरटन बराबरी

 काठमाडौं । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र एभरटनले ३/३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । डोमिनिक काल्भर्ट लेविनले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेपछि युनाइटेड घरेलु मैदानमा जितबाट बन्चित रहेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुई पटकको अग्रता जोगाउन सकेन । एभरटनले भने शानदार पुनरागमन गर्दै युनाइटेडसंग अंक खोस्न सफल भयो ।

खेलको २४औं मिनेटमा एडिनसन कभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिममा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।

 एभरटनले तीन गोल फर्कायो । ४९ औं मिनेटमा अबुदुलाए डाकुरे र ५२औं मिनेटमा जेम्स रोड्रिगेजले गोल गरेपछि दोस्रो हाफ सुरु भएको सात मिनेटपछि नै एभरटनले २/२ को बराबरीमा पुर्‍यायो । ७० औं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई ३/२ को अग्रता दिलाए ।

युनाइटेड जिततर्फ अघि बढिरहेको थियो । निर्धारित ९० मिनेटमा अग्रता कायमै थियो । तर इन्जुरी टाइमको पाँचौ मिनेट काल्भर्ट लेविनले गोल गर्दै युनाइटेडलाई जितबाट रोके ।

बराबरीपछि युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गर्ने अवसर गुमायो । २३ खेलबाट ४५ अंकसहित युनाइटेड दोस्रो स्थानमै छ । २१ खेलबाट खेलेको सिटीको ४७ अंक छ र यस बराबरीले सिटीलाई फाइदा पुगेको छ । एभरटन २१ खेलबाट ३७ अंकसहित छैटौं स्थानमा छ ।लिग लिडर सिटीले आज राति साविक विजेता लिभरपुलसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस