क्रिकेट रंगशालालाई सहयोग जुटाउन भोलि कलाकार र खेलाडीबीच प्रतिस्पर्धा, कलाकारहरु आजै आए चितवन

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १७ : ४४
क्रिकेट रंगशालालाई सहयोग जुटाउन भोलि कलाकार र खेलाडीबीच प्रतिस्पर्धा, कलाकारहरु आजै आए चितवन

चितवन । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणलाई सहयोग जुटाउन भोलि कलाकार र खेलाडीबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । भोलिको लागि हुने क्रिकेट प्रतियोगितामा कलाकारहरु आजै चितवन आइसकेका छन् । 

क्रिकेट खेल्न चितवन आइपुगेका कलाकार र खेलाडीहरुलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलमा शुक्रबार ओर्लिएको कलाकार र खेलाडीको टोलीलाई पञ्चेबाजासहित नाचगान गर्दै स्वागत गरिएको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यले भोलि शनिबार हुन लागेको ‘स्टार क्रिकेट २०२१’ खेल्न कलाकारहरुको टोली चितवन आइपुगेको हो । 

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा एकातिर खेल समूहको नेतृत्व सीताराम कट्टेल धुर्मुसले र अर्कोतिर कुञ्जना घिमिरे सुन्तलीले गर्ने छन् । नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलेव्रिटी सहभागी हुने बताइएको छ ।  

मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा दयाहाङ राई, बद्री पंगेनी, रामकृष्ण ढकाल, संगीना वैद्य, ज्ञानेन्द्र मल्ल, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ललगायतले क्रिकेट खेल्ने भएका छन् । माघ २४ गते निर्माणाधीन रंगशालामा प्रतियोगिता हुने सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस