मुठभेडतिर किन लम्किदै छन् दलहरू ?

शुक्रबार, २३ माघ २०७७, ०७ : ३४
मुठभेडतिर किन लम्किदै छन् दलहरू ?

काठमाडौँ । नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहाल बिहीबार सुरक्षाकर्मीसहितको गाडीमा सातदोबाटो–पुल्चोक–कोटेश्वर गरिरहँदा कतिपय ठाउँमा सुरक्षाकर्मी र अन्य ठाउँमा उनकै कार्यकर्ताले अवरोध गरेका कारण साधन हुने यात्रुले निर्धक्क यात्रा गर्न पाएनन्, नहुनेले पैदलै यात्रा गरे ।

बन्दका कारण ज–जसले दुःख पाए, ती मतदाता पक्कै हुन् तर कसैका खास कार्यकर्ता थिएनन् । बन्द गराउन खटिएका नेता–कार्यकर्तालाई हौसला दिन गाडीमा हुइँकिएका दाहालको शैलीबारे सामाजिक सञ्जालमा विरोध त भएकै थियो, नेकपा (ओली) का अध्यक्ष केपी शर्मा ओलीले पनि कटाक्ष गरिदिए, ‘जनताले कति दुःख पाए भनेर तमासा हेर्न कोही गाडीमा, कोही मोटरसाइकलमा निस्क्या छन्, कार्यकर्ता सकिएछन्, आफैं हिँड्या छन् ।’

प्रतिनिधिसभा विघटन भएको डेढ महिनायता नेकपाको नेतृत्वबीच एकले अर्कालाई गर्ने यस्ता कटाक्षले हद नाघिसकेको छ । बिहीबार दाहाल–नेपाल नेतृत्वको नेकपाको आमहडताल र ओली नेतृत्व नेकपाका युवा विद्यार्थीको जुलुसबाट ‘मुठभेड’ सडकमै पुगेको छ । यसले नेकपाभित्रको द्वन्द्वले आगामी दिनमा मुलुकलाई थप अप्ठ्यारो पार्न सक्ने विश्लेषण राजनीतिक चिन्तकहरूको छ । थप अप्ठ्यारोको संकेत नेकपा अध्यक्ष दाहालले अर्को ठूलो जनआन्दोलन हुन्छ भन्दै बिहीबार सडकबाटै गरेका छन् । ‘लोकतन्त्रमाथि प्रहार भएको छ ।

सबै त्यस कदमविरुद्ध उत्रिएका छन्, जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ, त्यसका विरुद्ध हाम्रो आन्दोलन हो । यो आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ हो,’ उनले भने, ‘हामी अझ ठूला आन्दोलन गर्ने छौं । २८ गते विशाल प्रदर्शन गर्ने छौं, फागुनको पहिलो साताबाट ठूलो जनआन्दोलन हुन्छ । त्यसले सबै लोकतन्त्रविरोधीलाई बढार्छ ।’ दाहालको यो अभिव्यक्तिको अर्थ सडक अझै अस्तव्यस्त हुन्छ, नागरिकको दुःख झन् बढ्छ भन्ने हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस