काठमाडौँ । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द रहेका जुम्लाका विद्यालयमा पठनपाठन शुरु भएका छन् ।
गत चैत २०७६ बाट बन्द भएका जुम्लाका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएका हुन् । यहाँका आठमध्ये पाँच स्थानीय तहका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएका छन् । गत चैतबाट बन्द भएका जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन शुरु भएको तिला गाउँपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखाका सहसंयोजक दीपेन्द्रराज हमालले बताउनुभयो ।
तिला गाउँपालिका–१ स्थित सीता माध्यमिक विद्यालयमा पढाइ शुरु भएकै दिनमा ७० प्रतिशतभन्दा बढी विद्यार्थी उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीको उपस्थिति केही कम भए पनि माथिल्लो कक्षामा विद्यार्थीको उपस्थिति राम्रो रहेको शिक्षक रुनबहादुर रावतले बताउनुभयो । नेपाल सरकारले लागू गरेको स्वास्थ्य मापदण्डअनुसार विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य मास्कको प्रयोग गरिएको सो विद्यालयले जनाएको छ ।
पालिकाभित्रका २७ वटै सामुदायिक विद्यालय माघको दोस्रो साताबाट सञ्चालनमा आएको गाउँपालिका शिक्षा शाखाले जनाएको छ । यहाँको सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाले माघ २० गतेबाट पालिकाभित्रका सबै विद्यालयमा पठनपाठन शुरु गरेको सिंजा गाउँपालिकाका प्रवक्ता नविन शर्माले बताउनुभयो ।
गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाले पनि माघको दोस्रो साताबाट सबै विद्यालयमा पठनपाठन सञ्चालनमा ल्याएको तातोपानी गाउँपालिकाका सूचना अधिकारी ओमबहादुर चन्दले बताउनुभयो ।
नयाँ शैक्षिक सत्र शुरु हुन लागेका बेला पठनपाठन शुरु भएको हुँदा विद्यार्थीको उपस्थिति सन्तोषजनक रहेको गुठीचौर गाउँपालिकाका शिक्षा अधिकृत प्रेमराज खनाले बताउनुभयो । विद्यार्थी र शिक्षकले कोरोना सङ्क्रमण विरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा ल्याएको यहाँका स्थानीय तहले जनाएका छन् ।
जिल्लाको सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले यही माघ २६ गतेबाट सामुदायिक विद्यालयको पठनपाठन सञ्चालनमा ल्याउने चन्दननाथ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताउनुभयो ।
फागुन २ गतेबाट जुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु हुनुपर्नेमा कोरोनाका कारण भर्खर पढाइ शुरु भएकाले पठनपाठनलाई तीव्रता दिने विद्यालयले जनाएका छन् ।
पठनपाठन शुरु भएका अधिकांश विद्यालयका शिक्षक विद्यालयमा पुगि सकेको र केही नआएका शिक्षक पनि आउन थालेको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । जिल्लामा फागुनबाट विद्यालय सञ्चालन हुने गरेको थियो । कोभिडले विद्यार्थीको पढाइमा प्रभावित पारेकाले जुम्लाका स्थानीय तहले पहिलोपटक माघ महिनामा पठनपाठन शुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २१ माघ २०७७, १९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द
चन्दा सङ्कलनबाट विद्यालयलाई बस हस्तान्तरण
नेपालमा कति छन् विद्यालय ?
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
संस्थागत विद्यालय समेत बन्द गर्न नेपाल शिक्षक महासङ्घको आग्रह