फरार अभियुक्तलाई धमाधम ‘फूलमाला’

पत्रपत्रिकाबाट

शुक्रबार, १६ माघ २०७७, ०७ : ४९
फरार अभियुक्तलाई धमाधम ‘फूलमाला’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका थिए । त्यसपछि पनि ओली र खामबीच पटक–पटक संवाद भइसकेको छ ।

खाम पूर्वमाओवादीका लडाकुमात्रै हुन्थे भने ओलीले उनलाई सम्झिनु विशुद्ध राजनीतिक विषय हुन सक्थ्यो तर माओवादी शान्ति प्रक्रियामा आइसकेपछि २०६५ वैशाखमा काठमाडौं कोटेश्वरका रामहरि श्रेष्ठको हत्यामा अदालतले दोषी किटान गरेका व्यक्ति हुन्, खाम । अहिले नेकपा विभाजित भएपछि १२ वर्षदेखि प्रहरीको ‘फरार’ सूचीमा रहेका खामको बालुवाटार आउजाउ बाक्लिएको छ । उनले प्रधानमन्त्री ओलीको नेकपामा समाहित हुन आफू र आफ्ना साथीहरूविरुद्ध लागेका मुद्दा फिर्ता हुनुपर्ने सर्त राखेका छन्, यसमा ओली पक्ष र खामको वार्ता निष्कर्षमा पुगिसकेको छैन ।

रातो पासपोर्ट बेचेको अभियोग लागेका सर्लाहीका शिवपूजन राय दुई साताअघि ओली नेतृत्वको नेकपामा प्रवेश गरे । २०७४ सालको निर्वाचनमा तत्कालीन माओवादीमा प्रवेश गरेर उनले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । निर्वाचन आयोगले रातो पासपोर्ट काण्डमा दोषी रहेको भन्दै अन्तिम समयमा उम्मेदवारी रद्द गरिदिएपछि उनी उठ्न पाएनन् । उनै राय अहिले ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।

दुई साताअघि सर्लाही जाँदा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मञ्चबाटै रायमाथि लागेको मुद्दा खारेज गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय सुनाएपछि फरार रहेका अभियुक्त रामनारायण यादवलाई उपप्रधानमन्त्री पोखरेलले माघ १३ गते फूलमाला लगाएर पार्टीमा प्रवेश गराए ।

यादवसँगै तत्कालीन भूमिगत सशस्त्र समूहका अरू कार्यकर्तालाई पनि पोखरेलले पार्टीमा स्वागत गरेका थिए । यादव आफूमाथि लागेको मुद्दा फिर्ता हुने अपेक्षामा ओली नेतृत्वको नेकपा प्रवेश गरेका हुन् । गौर हत्याकाण्डमा दोषी किटान भएका र विभिन्न आपराधिक गतिविधिमा संलग्न भन्दै नेपाल र भारतमा समेत दर्जनौं मुद्दा खेपिरहेका बबन सिंह ओली नेतृत्वको नेकपामा प्रवेश गरिसकेका छन् भने ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल बसेर २०७५ मा सरकारबाट माफी पाएपछि जेलमुक्त भएका बालकृष्ण ढुंगेल पनि अहिले ओली समूहले गर्ने कार्यक्रममा झुल्किन्छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस