एथ्लेटिक्सको राष्ट्रिय खेलाडीले सञ्चालन गरिन् गैँडाकोटमा ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो

गैँडाकोटमा पहिलो पटक ब्यवस्थित योग शाला सञ्चालन

प्रकाश सिग्देल

शुक्रबार, ०२ माघ २०७७, १८ : १५
एथ्लेटिक्सको राष्ट्रिय खेलाडीले सञ्चालन गरिन् गैँडाकोटमा ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो

नवलपुर । मानव स्वास्थ्यमा योगको निकै ठूलो महत्व छ । योगविना यो जीवन अधुरो रहने योगका साधकहरु बताँउछन् ।  मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा-जान्दै पनि योग गरेको हुदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकरात्मक तरिकाले एकसाथ समावेश गर्दछ, आध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ । आज जतिपनि ठूला-ठूला माहात्मा बनेका छन, ती सवै योगको माध्यमबाट बनेका छन ।

योग गुरु रामदेब देखी धेरै ठुला ठुला सन्तहरु अहिले योगको महत्व बुझाउदै हिडेका छन् । ईश्वरको आराधनादेखि लिएर शरीरलाई स्वस्थ तथा स्फूर्तवान राख्न तमाम बिमारीहरुको समाधानसम्म, आत्मादेखि लिएर शरीर तथा मस्तिष्कको शुद्धिसम्म, हरेक ठाउँमा योगको आवश्यकता रहेकोे योग प्रशिक्षकहरु बताउछन् ।

प्राचीन कालमा कलात्मक रुपमा साधाना गर्न तथा ईश्वरको तपस्या गर्न साधु सन्यासीहरु योगको सहारा लिने गर्दथे । हिन्दु संस्कृति तथा धार्मिक मान्यताअनुसार योगमा त्यस्तो अदभूत शक्ति छ त्यसको साधनाले मानिसले असीमित ज्ञान र शक्ति प्राप्त गर्न सक्छ । अहिलेका मानिसले योगको महत्व नजान्दा मानिसहरु बिभिन्न प्रकारका समस्याको भुमरीमा परेका छन् ।

बिश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरसको असर पछि भने मानिसले योग र साधनामा जोड दिन थालेका छन् । अहिले ठाउँठाउँमा निकै ब्यवस्थित योगशालाहरु सञ्चालन गरी ब्यवसायीक रुपमै योगअभ्यास गराउन थालिएको छ ।

 गैँडाकोट ५ को कांग्रेस चोकमा पनि ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो  सञ्चालनमा आएको छ । एथ्लेटिक्सको राष्ट्रिय खेलाडी तथा  गैँडाकोट ४ की स्थायी बासिन्दा ईन्दु घिमिरेले  गैँडाकोटका योगसाधकहरुको सहजताका लागी ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडियो  सञ्चालनमा ल्याएकी हुन् । उनले २०१५ मा ईटालीमा भएको ११७ किलोमिटरमा मेडल हात पार्न सफल भएकी थिइन् ।  

बिहाना ५ बजेदेखी ९ः ३० बजेसम्म र साझ ५ देखी ७ बजे सम्म योगा कक्षा हुने घिमिरे बताउछिन् ।  दैनिक ५ वटा क्लास सञ्चालन गर्ने गरेको र बिहान ७:३० देखी ८:३० बजेसम्म थाईराईड प्रेसर र सुगरका बिरामीका लागी कक्षा सञ्चालन हुने र साझ ५ देखी ६ बजे सम्म बच्चाका लागी कक्षा सञ्चालन गरिएको घिमिरेको भनाई छ । यहाँ भारत देखी आएका चर्चीत योग गुरु अमन दिप र मुकुर भारद्धाजले योग सिकाएका छन् । 

गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले योगशालाका उद्धघाटन गरेका हुन् । योगशाला उद्धधाटन गर्दै नगर प्रमुख पौडेलले गैडाकोटमा  ईन्द्रादिप योगा एण्ड जुम्बा स्टुडिया सञ्चालन गरेर स्वस्थ्य नागरिक उत्पादनमा सहयोग गरेको भन्दै आभार प्रकट गरे । मानव जीवन  पुर्ण बनाउन योग आवश्यक रहेको उनकोे भनाई थियो । कार्यक्रममा  गैँडाकोट ४ का वडा अध्यक्ष कृष्ण न्यौपाने , समाजसेवी मदनभक्त अधिकारी लगायत पुर्व जनप्रतिनिधि र स्थानिय सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । योग मानव जीवनका लागी नितान्त आवश्यक रहेको योग साधकहरु बताउछन् । योगशालामा योग गर्नका लागी नारायणगढ देखी योग साधकहरु जाने गरेका छन् ।

योग परम्परागत चिकित्सा पद्धति र जीवनशैली हो । यो वैज्ञानिक र व्यवहारिक छ । त्यसैले आत्म अनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग आवश्यक छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा-नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस