काठमाडौँमा खुकुरी प्रहार गरी लुटपाट, ५ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १७ पुस २०७७, १७ : २०
काठमाडौँमा खुकुरी प्रहार गरी लुटपाट, ५ जना पक्राउ

प्रतिकात्मक तस्विर

काठमाडौँ । मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा कार्यरत प्रेम गजमेरलाई खुकुरी प्रहार गरी रकम लुटपाट गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  नगद १ लाख ६६ हजार ९ सय १५ रुपैयाँ र सहकारीका कागजात तथा चेकबुक लुटेर फरार रहेको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ कमलाक्षी असन वतन भई भुरुङखेल ताम्सिपाखा बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका-२६ नरदेबी वतन भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेबी वतन भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेबी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका-२ वतन भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् । 

नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफे नजिक पुगेका प्रेमलाई पुस १५ गते दिउँसो उनीहरूले खुकुरी प्रहार गरी घाईते बनाई, डर धाक धम्की दिई लुटपाट गरी फरार रहेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सरसामानहरु पटकपटक चोरी गरेको भन्ने बुझिन आएको छ । 

आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस