मन्त्रिपरिषद् पुनर्गठन : प्रभु साहको रोचक प्रवेश, काठ ठेक्कापट्टा गर्ने नै वनमन्त्री

पत्रपत्रिकाबाट

शनिबार, ११ पुस २०७७, ०७ : ४५
मन्त्रिपरिषद् पुनर्गठन : प्रभु साहको रोचक प्रवेश, काठ ठेक्कापट्टा गर्ने नै वनमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको ६ दिनपछि शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेका छन् । ६ जना पुराना मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् भने १ मन्त्री र १ राज्यमन्त्री हटाएका छन् ।

दाहालको साथ छाडेकालाई मन्त्री

पुष्पकमल दाहालको साथ छाडेका प्रमुख नेताहरूलाई ओलीले मन्त्रिपरिषद्मा सामेल गरेका छन् । रामबहादुर थापा गृहमन्त्री र लेखराज भट्ट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा पहिलेदेखि नै मन्त्रिपरिषद्मा छन् । थापा र लामा पहिलोपटक मन्त्री भएका हुन् । थापाले एकपटक माओवादी आन्दोलनबाट बाहिरिएर नयाँ पार्टी बनाएका थिए ।

झन्डै १० वर्ष बाहिर रहेपछि उनी रामबहादुर थापासहितसँग मिलेर माओवादी केन्द्र बन्ने बेला एकीकरण प्रक्रियाबाट जोडिएका थिए । एकतापछि स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए पनि उनी दाहालसँग असन्तुष्ट थिए । लामाले २०७४ सालको चुनावमा सिन्धुपाल्चोकबाट प्रदेशसभाको चुनाव हारेका थिए ।

साहको रोचक प्रवेश

मन्त्रिपरिषद्मा साहको प्रवेश रोचक ढंगले भएको छ । प्रतिनिधिसभा विघटनलगत्तै उनले उक्त निर्णयलाई आत्मघाती भनेका थिए । साह केही दिन दाहाल–नेपाल समूहमा लागे । उक्त समूहको केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएका उनी शुक्रबार मन्त्रीका रूपमा प्रकट भए । दाहाल–नेपाल समूहको बैठकमा उनले माधव नेपाललाई अध्यक्ष बनाइएको विषयमा आपत्ति जनाएका थिए ।

उनले एकल अध्यक्ष प्रणालीमा जानुपर्नेमा जोड दिँदै आएका थिए । रौतहट जिल्लाको आन्तरिक राजनीतिमा नेता नेपालसँग टकराव गरिरहने साहले मन्त्री बन्ने भएपछि ओलीलाई साथ दिएका हुन् । प्रदेश २ मा दाहाल–नेपाल समूहमा मातृका यादव, रामचन्द्र झा, विश्वनाथ साहलगायतका प्रतिस्पर्धी नेताहरू थिए । त्यसैले पनि साह ओली समूहमा प्रवेश गरेका हुन् ।

श्रीमान्‌पछि श्रीमतीको पालो

मन्त्रिपरिषद्मा जुलीकुमारी महतोको प्रवेश पनि रोचक छ । विभाजनको पहिलो दिन उनका श्रीमान् रघुवीर महासेठ दाहाल–नेपाल समूहको बैठकमा गएका थिए । तर पछि उनीहरू दुवै ओलीकै समूहमा बसे । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।

काठ ठेक्कापट्टा गर्ने नै वनमन्त्री

पूर्वएमाले समूहबाटै मन्त्री बनेका चारै जना नयाँ हुन् । वनमन्त्री बनेका आले सुरुमा माधव नेपालनिकट मानिन्थे । ओलीको पहिलो मन्त्रिपरिषद् गठनका बेला नेपाल समूहबाट उनको पनि नाम चर्चामा थियो । तर पछि नेपालले अरूकै नाम पठाएपछि असन्तुष्ट बनेका उनी विस्तारै ओलीनिकट भएका थिए । विभाजनका बेला उनले ओलीलाई साथ दिए । त्यसबापत उनले मन्त्री पद पाएका छन् ।वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति हुन् ।

ठगुन्ना दार्चुलाका नेता हुन् । उनी दार्चुलामा बसेर कालापानीको मुद्दा उठाइरहन्छन् । त्यस्तै बर्दियाकी विक समानुपातिक सांसद थिइन् । नवनियुक्त मन्त्रीहरूले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका छन् । शपथ ग्रहणमा प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा पनि सहभागी थिए । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस