किशोरीलाई खोप लगाउँदै क्यान्सर अस्पताल

रासस

मंगलबार, ०७ पुस २०७७, २० : ३८
किशोरीलाई खोप लगाउँदै क्यान्सर अस्पताल

काठमाडौं । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार १२ वर्षदेखि १४ वर्षभित्रका ६ हजार किशोरीलाई खोप लगाइदैछ । एक जनालाई दुई डोज खोप लगाउनुपर्ने हुन्छ । रु पाँच करोडको खोप खरिदका लागि बोलपत्र आह्वान भई सम्झौता भई सकेको उहाँले जानकारी दिनुभयो । आउँदो चैतसम्ममा खोप लगाउने योजना छ ।

चितवनमा पालिकासँग सहकार्य गरेर खोप लगाइने गौतमको भनाइ छ । विदेशी दाताको सहयोगमा विभिन्न जिल्लाका किशोरीलाई खोप लगाइएको भए पनि सरकारले आफ्नै खर्चमा पहिलो पटक खोप लगाउन लागेको उहाँको भनाइ छ । यहाँको क्यान्सर अस्पतालको गत वर्षको तथ्याङ्कअनुसार कूल क्यान्सर भएका बिरामीमध्ये ११ दशमलब ५७ प्रतिशत महिला पाठेघरका रहेका छन् ।

महिला मात्रैको क्यान्सरको तथ्याङ्क हेर्दा यो २१ प्रतिशत हुन आउने गौतमको भनाइ छ । किशोरीलाई खोप दिन सकेमा क्यान्सरबाट रोक्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस