कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन

पत्रपत्रिकाबाट

मंगलबार, २३ मंसिर २०७७, ०८ : ०२
कोरोना संक्रमित पत्ता लगाउन कुकुर परिचालन

अस्ट्रेलिया । अस्ट्रेलियाले कोभिड–१९ संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानलाई बिस्तारै सुरु गर्ने प्रक्रियामा रहेको अस्ट्रेलियाले कुकुरहरूको सहयोगले विदेशबाट आउने संक्रमित पत्ता लगाउन सहज हुने बताएको छ ।

कुकुरलाई पसिनाबाट आउने विशेष किसिमको गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट प्रारम्भिक चरणमा संक्रमितको पत्ता लगाउन तालिम दिइएको छ । यात्रु संक्रमित भए, नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ ।

यस प्रक्रियाको अनुसन्धान गरिरहेकी एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा। सुसन हाजेलले आफूले आवश्यक तालिम गरिसकेको र अर्को चरणमा यस्ता तालिमप्राप्त कुकुरलाई अन्तर्राष्ट्रिय यात्रु आउने विमानस्थलमा तैनाथ गरिने रहेको बताएकी छन् ।

उनले सुरुवाती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहेको यस्ता तालिम प्राप्त कुकुरले पत्ता लगाएको बताएकी छन् । ‘तालिम प्राप्त कुकुरले अन्य परीक्षणको नतिजाबाट पोजिटिभ आउनुअघि नै उक्त व्यक्ति पोजिटिभ रहेको देखाउन सक्ने क्षमता राख्छन्,’ उनले भनिन् ।

यस कार्यको थालनी अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा सुरु गरिएको हो । अनुसन्धानकर्ता डा। हाजेलका अनुसार कुकुरले अन्य भाइरल संक्रमण पत्ता लगाउन खासै ध्यान नदिने भए पनि कोभिड–१९ संक्रमित पत्ता लगाउन प्रभावकारी हुने बताएकी छन् ।

द गार्जियनका अनुसार फिनल्यान्डको हेलसिन्की विमानस्थलमा यस्तै तालिम प्राप्त चारवटा कुकुरलाई नमुना कार्यक्रमका रूपमा संक्रमित पहिचानका लागि परिचालन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस