समाजवादी पार्टीका प्रमुखलाई प्रहरीको अवरोध

एजेन्सी

सोमबार, २२ मंसिर २०७७, १९ : ५६
समाजवादी पार्टीका प्रमुखलाई प्रहरीको अवरोध

काठमाडौँ । भारतको समाजवादी पार्टीका प्रमुख तथा पूर्व मुख्य मन्त्री अखिलेश यादवलाई प्रहरीले अवरोध गरेको छ ।  लखनउमा सोमबार आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी हुन गइरहेका बेला उहाँलाई प्रहरीले अवरोध गरेको हो । 

प्रहरीले यसअघि पनि उहाँलाई पार्टीले कनौँजमा आयोजना गरेको कार्यक्रममा सहभागी हुने बेलामा अवरोध गरेको थियो । उहाँ किसानहरुले आयोजना गरेको विरोध कार्यक्रममा ऐक्ववद्धता जनाउन जान लाग्नुभएको थियो । 

भारतमा कृषिसम्वन्धी नयाँ कानुनहरूप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि किसानहरू आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनप्रति यादवले यसअघि देखि नै समर्थन जनाउँदै आउनुभएको छ । 

पूर्व मुख्यमन्त्री यादवले केन्द्रीय सरकारले जारी गरेको कृषिसम्वन्धी नयाँ कानुन फिर्ता लिनु पर्नेमा जोड दिने गर्नु भएको छ । “यदी नयाँ कानुनले किसानलाई फाइदा गर्दैन र किसानहरु खुशी छैनन् भने केन्द्रीय सरकारले कानुन किन फिर्ता लिदैन ?” उहाँले प्रश्न गर्नुभयो ।  

उहाँले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले लोकतन्त्रको अन्त्य गर्न र किसानहरुको आवाज दवाउन खोजेको आरोप पनि लगाउनुभयो ।  “भाजपाले कार्यक्रम आयोजना गर्दा कोरोनाभाइरस नफैलिने अनि किसानहरुले आयोजना गर्दा फैलिने भन्ने हुन्छ र ?” उहाँको प्रश्न थियो ।

पूर्व मुख्यमन्त्री यादवले भाजपाका कार्यकर्ताले कार्यक्रम गर्दा कुनै कारबाही तथा अवरोध नहुने र आफ्नो पार्टी र किसानहरुले कार्यक्रम गर्दा भने जेल जानु पर्ने वा अवरोध हुने गरेको भन्दै आपत्ति पनि जनाउनुभयो । 

प्रतिक्रिया दिनुहोस