नेपालमा सरकारी पीसीआर रिपोर्ट निगेटिभ, हङकङमा पोजेटिभ

पत्रपत्रिकाबाट

विहीबार, १८ मंसिर २०७७, ०७ : ५६
नेपालमा सरकारी पीसीआर रिपोर्ट निगेटिभ, हङकङमा पोजेटिभ

काठमाडौँ । नेपालबाट सरकारी प्रयोगशालाको पीसीआर नेगेटिभ रिपोर्ट बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा हङकङ पुगेका ५ नेपाली यात्रुको रिपोर्ट पोजिटिभ देखिएको छ । निगम स्रोतका अनुसार सोमबार राति नेपालबाट उडेका २ सय ५१ यात्रुको हङकङ सरकारले विमानस्थलमै कोभिड–१९ जाँच गर्दा ५ जनामा रिपोर्ट पोजिटिभ देखिएको हो ।

‘पोजिटिभ देखिएका यात्रु हङकङको स्वास्थ्य डेस्कको निगरानीमा छन्,’ स्रोतले भन्यो, ‘हङकङको नागरिक उड्डयन विभाग अन्तर्गतको एयरलाइन्स कमिटीले बिहीबार जारी गर्ने नोटको प्रतिक्षामा छौं ।’

निगमको उडानमा नेपालबाट कोभिड रिपोर्ट नेगेटिभ लिएर उडेका यात्रुको त्यहाँ पुनस् जाँच गर्दा पोजिटिभ देखिएपछि हङकङको नागरिक उड्डयन विभागले यसअघि अक्टोबरमा दुईपटक र नोभेम्बरमा एकपटक काठमाडौं–हङकङ–काठमाडौं उडान दुई–दुई साता रोक लगाएको थियो । ‘हङकङ विमानस्थलमा रहेको स्वास्थ्य डेस्कले जानकारी दिइसकेको खबर आएको छ, निगमको यसपटक उडान स्थगन गर्ने वा नगर्नेबारे बिहीबार मात्रै थाहा हुन्छ,’ निगमका एक अधिकारीले कान्तिपुरसँग भने ।

निजी प्रयोगशालाको रिपोर्टमा समस्या देखिएपछि सरकारले निगमको उडानमा जानेलाई अर्को व्यवस्था नहुन्जेलसम्म सरकारी प्रयोगशालामा कोभिड–१९ परीक्षण गरेको पीसीआर रिपोर्ट लिएरमात्र यात्रा गर्नुपर्ने नियम बनाएको छ । सरकारी प्रयोगशालाको नेगेटिभ रिपोर्ट बोकेर गएका यात्रुको पनि हङकङमा पोजिटिभ देखिएपछि निगमका अधिकारीहरु दुविधामा परेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस