मेयर कपको उपाधि भुटनदेवी फुटबल टिमलाई

मंगलबार, २९ फागुन २०७४, २० : २५
मेयर कपको उपाधि भुटनदेवी फुटबल टिमलाई

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आयोजनामा भएको मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को भूटनदेवी माता टिमले जितेको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पराजित गर्दै १० नम्बर वडा विजयी भएको हो ।
निकै कडा प्रतिस्पर्धाका बिच अघिल्लो संस्करणको उपविजेता वडा नम्बर १० ले उपाधि चुमेको हो । भूटनदेवी फुटबल टिमको तर्फबाट निर्णायक गोल सुशान्त लामाले गरेका थिए । उनले खेलको ६० औं मिनेटमा राष्ट्रिय खेलाडी रञ्जन बिष्टले दिएको पासको सदुपयोग गर्दै सहजै गोलमा परिणत गरेका थिए । लामाले फाइनल खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद पाँचहजार रुपियाँ प्राप्त गरे ।
विजेता वडा नम्बर १० ले उपाधिसहित नगद एकलाख ५० हजार रुपियाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ  त्यस्तै उपविजेता टोलीले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । खेलका अधिकांश समय दश नम्बरले बललाई आफ्नो नियन्त्रणमा राखेपनि थप गोल भने गर्न सकेन । फाइनल खेलमा ९ नम्बरका खेलाडी अमिर श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । १० नम्बरका स्ट्राइकर वीके लामाले दोस्रो हाफमा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता १० नम्बर वडाका सुशान्त लामा भए । उनले ३ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै ९ नम्बरका अमिर श्रेष्ठले नगद १५ हजार रुपियाँ प्राप्त गरे ।
१० नम्बरका मनोज बिष्ट उत्कृष्ट डिफेन्डर, विवेक गुरुङ मिडफिल्डर, वीके लामा उत्कृष्ट फरवर्ड र रुपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । ९ नम्बरका सिचन लामा उत्कृष्ट गोलरक्षक घोषित हुँदा ३ नम्बर वडाका विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सवै खेलाडी तथा प्रशिक्षकले जनही नगद सातहजार पाँचसय रुपियाँ प्राप्त गरे । विजेता, उपविजेता तथा सम्पूर्ण उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लाामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनाललगायतले पुरस्कार प्रदान गरेका थिए ।
हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको प्रतियोगितामा १९ वटा वडाहरुको सहभागिता रहेको थियो । फागुन १९ गतेबाट हेटौंडामा सुरु भएको प्रतियोगिता नकाउट आधारमा सञ्चालन गरिएको थियो । प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने र नगद राशिमा समेत बृद्धि गरिने आयोजकले बताएको छ । प्रतियोगिताको समापनको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापालाई खेल क्षेत्रको प्रोत्साहनसंगै शान्ति सुरक्षामा विशेष सहयोग पु¥याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस