चितवन । कोरोना महामारीमा दुर्लभ वन्यजन्तुको चोरीसिकार बढ्न सक्ने आकलन सत्य सावित भएको छ । गत भदौमा चितवन राष्ट्रिय निकुञ्जभित्र गोली चलेको आवाज सुनिए पनि तस्करले त्यसभन्दा पहिल्यैदेखि निकुञ्ज छिरेर गैंडा मारेको देखिएको छ । कोरोना महामारी बढेपछि भएको लकडाउनसँगै तस्कर सक्रिय भएर निकुञ्जभित्र सिकारी परिचालन गरेको खुले पनि अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।
भदौ १६ मा निकुञ्जको पश्चिम क्षेत्रमा गोली चलेको आवाज सुनियो । खोज्दै जाँदा पाँच दिनपछि गोली लागेर मरेको एउटा गैंडा भेटियो । त्यही क्षेत्रमा हालसालै खागविहीन तीनवटा गैंडा मृत भेटिए । यो आर्थिक वर्षको साउनयता निकुञ्जमा १४ वटा मृत गैंडा फेला परेका छन्, जसमध्ये चारवटालाई सिकारीले गोली हानेर मारेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । ‘कात्तिक २१ मा एउटा खागविहीन मृत गैंडाको कंकाल भेटियो, निकुञ्जको पश्चिम क्षेत्र भुसहरघाट नजिक भेटिएको उक्त गैंडालाई करिब ५–६ महिनाअघि नै मारेर खाग लगेको देखिन्छ,’ उनले भने ।
लकडाउनको सुरुवाती अवस्था वैशाख–जेठतिर नै तस्करले उक्त गैंडा मारेको अनुमान छ तर निकुञ्जले कुनै सुइँको पाएन । गैंडा सडे–गलेर झन्डै विलीन हुने अवस्थामा पुगेपछि मात्रै भेटिएको थियो । भदौ १६ मा गोली चलेको आवाज सुनेपछि मात्रै निकुञ्जको सक्रियता बढेको हो तर त्यो बेला मरेका गैंडा पनि बल्ल भेटिन थालेका छन् । निकुञ्जको पश्चिम क्षेत्र नवलपरासीको लौखानी पोस्टनजिक बाँदरझुला टापुमा गोलीको आवाज आएपछि निकुञ्जले खोजी सुरु गरेको थियो । सेना र प्रशासनले पाँच दिन खोजेपछि भदौ २१ मा टाउकामा गोली लागेर मरेको गैंडा फेला पारेका थिए तर खाग भने सुरक्षित नै थियो ।
उक्त क्षेत्रनजिक पर्ने नारायणी नदीको टापु मर्दी घोलमा कात्तिक १९ मा गैंडाका माउबच्चा मृत भेटिए । माउ २०र२५ वर्षको र बच्चा लगभग तीन वर्षजतिको थियो । दुवै गैंडाको खाग थिएन । टाउकामा गोलीको घाउ थियो । त्यसैले उनीहरूलाई तस्करले नै मारेको पक्का भयो । ती माउबच्चालाई दुई महिनाअघि मारिएको अनुमान छ अर्थात् भदौ १६ मा गोली चलेकै बेला उनीहरू मारिएका हुन सक्छन् ।
भदौ २१ देखि कात्तिक २१ सम्म तस्करले मारेका चारवटा गैंडा भेटिए तर यी घटनामा संलग्न अहिलेसम्म कोही फेला परेका छैनन् । चितवन निकुञ्जको आधिकारिक विवरणहरूलाई आधार मान्दा २०७३ चैत २६ यता चोरीसिकारीले गैंडा मारेका थिएनन् । लगभग साढे तीन वर्षपछि गैंडा चोरीसिकार सुरु हुँदा निकुञ्जले घटनामा संलग्नको भेउ पाउन सकेको छैन । तस्करहरू सक्रिय मात्रै होइन, निस्फिक्री देखिएका छन् ।
चारवटा गैंडा मार्ने एउटै समूह थियो वा फरक भन्ने निक्र्योल पनि हुन सकेको छैन । ‘कात्तिक २१ मा भेटिएको गैंडा निकै पहिल्यै मारेको हुँदा भदौको घटनामा त्यो समूह संलग्न नरहेको हुन सक्छ । बरु भदौ २१ मा मृत भेटिएको र कात्तिक १९ मा मृत भेटिएका माउबच्चा मार्ने एउटै समूह हुन सक्छ,’ प्रमुख संरक्षण अधिकृत बरालले भने । उनका अनुसार मृत गैंडाको शरीरमा गोलीको चोट देखिए पनि गोली भेटिएन । यसले गर्दा संलग्न व्यक्ति पत्ता लगाउन गाह्रो भएको छ ।
चितवन निकुञ्जमा कार्यरत रहँदा चोरीसिकारविरुद्ध सक्रिय रहेका अवकाशप्राप्त पूर्वप्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर गैंडा सिकारमा तीनवटा समूह सक्रिय हुने गरेको बताउँछन् । ती तीनवटै समूहले फरक–फरकखाले हतियार प्रयोग गर्छन् । गोली भेटिएको भए कुन हतियार प्रयोग भयो भन्ने खुल्ने र समूहको पहिचान गर्न सजिलो हुने कुँवरले बताए । गोली नै नभेटिँदा निकुञ्ज प्रशासन रनभुल्ल छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ कार्तिक २०७७, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैँडाको आक्रमण परि एक वृद्धको मृत्यु
गैँडाले आक्रमण गर्दा एकजना घाइते
सौराहामा हुर्काइएकी ‘पूजा’ लाई चिडियाखाना पठाइयो
आठ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २० गैँडा मरे
गैँडाको आक्रमणपछि बेपत्ता महिलाको शव भेटियो
चितवनमा गैँडाको आक्रमण बढ्दो : दुई महिनामा ६ जनाले गुमाए ज्यान