अझै विद्युत पुग्न नसकेका चितवनका यी ठाउँ

हिरालाल आचार्य ‘डायमण्ड’

सोमबार, २४ कार्तिक २०७७, १६ : ३७
अझै विद्युत पुग्न नसकेका चितवनका यी ठाउँ

चितवन । देशकै केन्द्रभागमा पर्ने र एउटा महानगर रहेको चितवनलाई विकसित जिल्लाका रुपमा लिइन्छ । चितवनको मुख्य बजार क्षेत्र सबै किसिमका पूर्वाधारहरुले भरिपूर्ण छ । भरतपुर महानगर मेडिकल सिटीका रुपमा विकसित हुँदै गइरहेको छ । तर यही जिल्लाका केही यस्ता ग्रामीण क्षेत्रहरु पनि छन्, जहाँ अझै विद्युत पुग्न सकेको छैन ।

चितवनका सात स्थानीय तहमध्ये नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भरतपुर महानगरका केही वडा र इच्छाकामना गाउँपालिकालाई हेर्ने गर्छ । चनौली वितरण केन्द्रले भरतपुर महानगरका पश्चिम क्षेत्रका केही वडा र माडी नगरपालिकाकालाई हेर्ने गर्छ । रत्ननगर टाँडी वितरण केन्द्रले रत्नगनगर, कालिका, खैरहनी र राप्ती नगरपालिकालाई हेर्ने गर्छ । 

यी तीन वटै वितरण केन्द्रले हेर्ने केही क्षेत्रमा विद्युत पुग्न सकेको छैन । कालिका र राप्ती नगरपालिकाका केही वडाहरुमा विद्युत पुग्न सकेको छैन । कालिकाको ९, १० र ११ नम्बर वडा तथा राप्तीको ११, १२ र १३ नम्बर वडामा विद्युत पुगेकै छैन भने १० नम्बर वडामा आंशिक रुपमा विद्युत पुगेको छ । 

रत्नगनगर टाँडी विद्युत वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले विद्युत नपुगेका स्थानहरुमा विद्युतीकरणको काम गर्न ठेक्का सम्झौता भइसकेको बताए । आवश्यक सामग्री आउन नसकेका कारण काम सुरु हुन नसकेको बताउँदै उनले सामग्री आएको एकवर्षभित्र सबै टोल र घरधुरीमा विद्युत पुर्‍याउने गरी काम हुने जानकारी दिए ।

भरतपुर विद्युत वितरण केन्द्रले हेर्ने इच्छाकामना गाउँपालिकका केही टोलहरुमा विद्युत पुग्न सकेको छैन । सबै वडाहरुलाई विद्युतले छोएको भएपनि सबै टोल र घरधुरीमा पुग्न नसकेको वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोले बताए । वडानम्बर १ को नोभाङ र थाल गाउँ, २ को फले गाऊँ र टाल्केस, ३ को चौतरा गोप्ते, ४ को नयाँवस्ती, ५ को बनेलटार, पहेंलेडाँडा, फोक्सिङ, पुक्लेडाँडा र ६ को लालीडाँडामा अझै विद्युत पुग्न सकेको छैन । विद्युत नपुगेका स्थानहरुमा यस आर्थिक वर्षभित्र विद्युत पु¥याउने लक्ष्यका साथ विद्युतीकरणको काम भइरहेको प्रमुख महतोले जानकारी दिए ।

अण्डरग्राउण्ड सिष्टमबाट ४ वर्षअघि विद्युत पुर्‍याइएको माडी नगरपालिकामा पनि सबै टोलहरुमा विद्युत पुग्न सकेको छैन । चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले माडी नगरपालिकाका सबै वडालाई विद्युतले छोएको भएपनि केही टोल र घरधुरीहरुमा विद्युत पुर्‍याउन नसकिएको बताए । 

माडीभित्र वडानम्बर २ को सितलपुर, ३ को सिमरा र १ को बाँदरझुलामा विद्युत पुग्न सकेको छैन । अन्य वडाका ८० प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत पुर्‍याइसकिएको लम्साल बताउँछन् । 

विद्युत नपुगेका अधिकांश स्थानहरुमा पोल गाड्ने काम सकिएको र अब तार हाल्न बाँकी रहेको प्रमुख लम्सालले जानकारी दिए । यही फागुनसम्म सबै टोल र घरधुरीमा विद्युत पुर्‍याउने लक्ष्य राखेर काम भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस