सरकारले निःशुल्क उपचार मात्रै होइन भात खान पनि रोक लगायो

पत्रपत्रिकाबाट

मंगलबार, १८ कार्तिक २०७७, ०७ : १६
सरकारले निःशुल्क उपचार मात्रै होइन भात खान पनि रोक लगायो

काठमाडौं । अभियन्ता बद्रीप्रसाद ढुंगाना स्वयंसेवकका साथ हरेक दिन दिउँसो २ बजे खुलामञ्च पुग्छन् । त्यहाँ भेला भएका झन्डै २ सय जनालाई निःशुल्क खाना वितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ भएका मजदुरको बाहुल्य हुन्छ । अशक्त र असहाय पनि हुन्छन् ।

तर, सोमबार ढुंगानाको समूहले खाना वितरण गरिरहँदा अवरोध झेल्नुपर्‍यो । महानगर प्रहरीका सईको नेतृत्वमा आएका १० प्रहरीले खाना नबाँड्न उर्दी जारी गरेको उनले बताए । ‘मेयर सा’बको निर्देशन भन्दै हामीलाई खाना बाँड्न बन्द गर्न निर्देशन दिइयो । केही दिनअघि पनि अवरोध गरिएको थियो ।
 तर हामी रोक्दैनौं,’ उनले भने । ढुंगानाले नेतृत्व गरिरहेको निःशुल्क खाना वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं न्यु ग्रिन सिटी, मानवी क्रिएटिभ एसोसिएसन र सेभ एसोसिएसन नेपालले सहकार्य गरेका छन् । उनीहरूले खुलामञ्चमा खाना खुवाउन थालेको सोमबार ३७ दिन पुगेको छ । 

प्लेटमा दाल, भात, तरकारी र अचार खुवाउने गर्छन् । खाना खुवाउने ठाउँमा फोहोर नगरेको उनको दाबी छ । ‘हामी सकेसम्म सफा गर्छौं, तैपनि हामीले खुवाउँदा फोहोर भएको छ भने अझ सफा गर्न तयार छौं तर खाना बाँड्नै बन्द गर भन्नुचाहिँ आपत्तिजनक हो,’ ढुंगानाले भने । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले नागरिककै आग्रहमा निःशुल्क खाना वितरण रोक्ने निर्णय गरिएको बताए । 

लकडाउन खुलेपछि खुलामञ्चलगायत ठाउँमा मान्छेको आवतजावत बढेको, सवारीसाधन चल्न थालेको र बाहिर त्यतिकै खुवाउँदा शोभनीय नदेखिएकाले त्यस्ता ठाउँमा खाना वितरण रोक्नु आवश्यक भएको डंगोलको जिकिर छ । उसो त सरकारले निःशुल्क उपचार गर्न पनि नसकिने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस