मन्त्रीको यस्तो रवैयाले गण्डकी प्रदेश सरकार नै बदनाम

सफल खबर संवाददाता

बुधबार, ०५ कार्तिक २०७७, १५ : ५९
मन्त्रीको यस्तो रवैयाले गण्डकी प्रदेश सरकार नै बदनाम

पोखरा । भौतिक मन्त्रीको अनियमितताले गण्डकी प्रदेश सरकार बद्नाम भएको छ । गण्डकी प्रदेश सरकारमा एक जना यस्ता मन्त्री छन्, जसका कारण गण्डकी प्रदेश सरकारले नै यतिबेला बदनाम कमाइरहेको छ । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गोरखा क्षेत्र न १ को प्रदेशसभा ‘ख’ बाट निर्वाचित गोरखा, नारेश्वरका रामशरण बस्नेतका कारण प्रदेश सरकार बदनाम भएको हो । 

प्रदेश सभाको निर्वाचनपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका बस्नेतले सुरुको अवस्थामा राम्रै काम गरे । विकासका कामहरुलाई धमाधम अगाडि बढाए । प्रदेश सरकारको विश्वास पनि जित्दै गए । पछिल्लो समय उनी एकाएक बदनाम कमाउनतर्फ लागे । 

मन्त्री बस्नेतबाट कागजमा थुप्रै काम अगाडि बढेको देखाउने तर फिल्डमा गएर हेर्दा कुनै पनि काम अगाडि बढेको नदेखिने क्रियाकलाप हुन थालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमेत उनको कामबाट सन्तुष्ट हुन सकेनन् । मुख्यमन्त्री अनुगमनमा निस्किँदा उक्त मन्त्रालयको प्रगति नै देखिएको थिएन । 

मन्त्री रामशरणले कागजी प्रगति देखाई ठेकेदारसँग पैसा असुल्ने गरेको रिपोर्ट मुख्यमन्त्रीकहाँ पुगेको स्रोतको भनाइ छ । भौतिक मन्त्रालयका तत्कालिन सचिव ईश्वर मरहट्टासँग रामशरणको हिसावकिताव नमिलेपछि अहिले उनीहरुवीच बोलचाल नै बन्द छ । विभिन्न आयोजनामा कमिसनको विषयलाई लिएर विवाद भएपछि उनी अहिले मन्त्रालय छोडेर डोलिडारको महानिर्देशकका रुपमा काठमाडौं फर्किएका थिए । गृह जिल्ला गोरखाका विभिन्न ठेकेदारसँंग मिलेर सडक आयोजना समेत अलपत्र पारेका मन्त्री बस्नेतमाथि आरोप छ ।

विभिन्न आयोजनाबाट कमिसन खाएको भन्दै नेकपा जिल्ला पार्टीमा समेत मन्त्री बस्नेतको आलोचना हुँदै आएको छ । मन्त्री बस्नेतले आफ्नो छोराको विवाहमा बुहारीलाई २५ तोला सुन उपहार दिएको चर्चा पनि छ । यही बिचमा मन्त्री बस्नेतले धन आर्जन गरी पोखराको आँखा अस्पतालअगाडी हालसालै उनले ११ आना जग्गा किनेका छन् । 

नवलपरासीको कावासोतीमा रहेको ट्रायल सेन्टरमा समेत उनको ‘गोल्डेन शेयर’ रहेको स्थानीय नेकपा नेताहरु बताउँछन् । उनले भौतिक मन्त्रालयको अनुदानमा रहेको उक्त ट्रायल सेन्टर मिलाइदिएबापत २५ प्रतिशत ‘गोल्डेन शेयर’ हात पारेको नेताहरु बताउँछन् । पहिला साधारण जीवनशैली अपनाउने नेता बस्नेत पछिल्लो समय उनको जीवनशैली मात्र होइन्, आर्थिक हैसियतसमेत फेरिएपछि पार्टीमा अनेक चर्चा परिचर्चा हुँदै आएको छ । 


 

प्रतिक्रिया दिनुहोस