चितवन प्रशासनको अनुरोध : घरभित्रै दसैँ मनाऔँ, हिँडडुल नगरौँ

सफल खबर संवाददाता

मंगलबार, २७ असोज २०७७, १४ : ४९
चितवन प्रशासनको अनुरोध : घरभित्रै दसैँ मनाऔँ, हिँडडुल नगरौँ

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दसैँ, तिहारलगायतका चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न सबैमा आग्रह गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा हस्ताक्षर गरिएको पत्रमा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । चितवन जिल्लामा कोभिड १९ को संक्रमितको संख्या २७ सय ६४ पुगेको सक्रिय संक्रमितको संख्या एक हजार ९७ पुगेको हुनाले सम्पूर्ण जिल्लावासीलाई अत्यन्तै सावधानी हुन अनुरोध गरिएको छ । 

धार्मिक स्थलमा धर्म परम्परालाई निरन्तरता दिइ नित्य पूजा अर्चना मात्र गर्न, दसैंमा फुलपाती भित्र्याउने काम सांकेतिक रुपमा गर्न, खेलकुदका कार्यक्रम, जात्रा, मेला तथा उत्सवहरु आयोजना नगर्न प्रशासनको आग्रह छ । अवैध मदिरा उत्पादन, बिक्री बितरण तथा उपभोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न, तीब्र गतिमा सवारी साधन नचलाउन, गुणस्तरहीन उपभोग्य वस्तु विक्री वितरण नगर्न, कृतिम अभाव सृजना गरी कालोबजारी नगर्न, जुवातास र गैरकानुनी चिठ्ठा कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन पनि अनुरोध गरिएको छ ।

यस्तै दसैँ तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान, देउसी भैलोलगायतका कुनै पनि कार्यक्रम नगर्न आग्रह गरिएको छ । यस्तै पटाका, आतिसबाजीलगायतका विष्फोटक वस्तु प्रयोग नगर्न, ध्वनी प्रदुषण, चन्दा संकलन नगरी आपसी सदभाव कायम गर्न सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरिएको छ । 

प्रशासनले १२ वर्ष भन्दा कमका बालबालिका र ६० बर्षमाथिका वृद्धवृद्धा तथा जटिल प्रकारका श्वास्थ्य समस्या भएका मानिसहरुलाई घरबाहिर हिँडडुल नगर्न हिँड्नै परे सम्पूर्ण सुरक्षाको मापदण्ड अपनाउन अनुरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस