बढ्न थाले जलविद्युत कम्पनीका सेयर मूल्य

पत्रपत्रिकाबाट

बुधबार, २१ असोज २०७७, ०७ : ५८
बढ्न थाले जलविद्युत कम्पनीका सेयर मूल्य

काठमाडौं । लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।

बजार निरन्तर बढेर अन्य समूहका सेयर मूल्य उक्लिएपछि लगानीकर्ता जलविद्युत् कम्पनीतिर मोडिएका हुन् । एक महिना अघिसम्म कतिपय कम्पनीको सेयर मूल्य सय रुपैयाँभन्दा निकै कम थियो ।

गत ६ सेप्टेम्बरमा १ हजार ७६ दशमलव ४८ अंकमा रहेको उपसूचक २९५ अंकले बढेर ६ अक्टुबरमा १ हजार ३७१ दशमलव ३० मा पुगेको छ । बढी मूल्य भएकाहरूको पनि अन्य समूहका कम्पनीको भन्दा तुलनात्मक रूपमा कम छ । यही कारण लगानीकर्ताको आकर्षण जलविद्युत क्षेत्रमा बढेको हो ।

दुई महिनाअघिसम्म दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये १८ वटा जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा निकै तल झरेको थियो । तर, अहिले सबै कम्पनीका सेयर मूल्य बढेर सय रुपैयाँमाथि नै कारोबार भइरहेका छन् । राजधानी दैनिकमा खबर छ ।