लघुवित्तमा पनि स्थिर ब्याज, अधिकतम १५ प्रतिशत लिन पाइने

पत्रपत्रिकाबाट

सोमबार, १९ असोज २०७७, ०८ : ४२
लघुवित्तमा पनि स्थिर ब्याज, अधिकतम १५ प्रतिशत लिन पाइने

काठमाडौं । अब लघुवित्त संस्थाबाट कर्जा लिनेमा पनि ब्याज दर परिवर्तनको त्रास हट्ने भएको छ । साथै ब्याज पनि १५ प्रतिशतभन्दा माथि लिन नपाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले इजाजत पत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई आइतबार जारी गरेको एकीकृत निर्देशन २०७७ का अनुसार अबका दिनमा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि स्थिर ब्याज दर कायम गर्नुपर्ने भएको हो ।

यसअघि राष्ट्र बैङ्कबाट क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७६ मा संशोधन÷परिमार्जन गर्दै स्थिर ब्याज दरको व्यवस्था छ । राष्ट्र बैङ्कको यो व्यवस्थाले पटके ब्याज दरको त्रासमा रहेका ऋणीहरू लाभान्वित हुने भएका छन् । निर्देशनले लघुवित्त संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याज दर पनि अधिकतम १५ प्रतिशतसम्म निर्धारण गरिदिएको हो ।

सहकारी विभागले सहकारी संस्थालाई कर्जा लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज दर लिन नपाउने गरी सीमा तोकेसँगै सहकारी क्षेत्र तरङ्गित भइरहेका बेला लघुवित्त संस्थाको पनि ब्याज दरको सीमा पनि तोकिएको छ । साथै अब लघुवित्त संस्थाले पनि आगामी कात्तिकदेखि नै आधार दर पनि तय गर्नुपर्ने भएको छ । लघुवित्त वित्तीय संस्थाले कात्तिकदेखि आधार दर तय गरी राष्ट्र बैङ्कमा पेस गर्नुपर्ने व्यवस्था सो निर्देशनमा उल्लेख छ ।

ब्याज दर नयाँ व्यवस्था निर्देशन जारी भएको मिति चालू आर्थिक वर्ष २०७७÷७८ को साउन १३ मा बक्यौता रहेको तथा त्यसपछि प्रवाह भएका र हुने कर्जा कर्जामा लागू हुने राष्ट्र बैङ्कले जनाएको छ । गोरखापत्रमा खबर छ ।