‘बोक्सी’का नाममा अझै ज्यादती

पत्रपत्रिकाबाट

शनिबार, १७ असोज २०७७, ०८ : ५८
‘बोक्सी’का नाममा अझै ज्यादती

काठमाडौं । घटना १ असार ३१ गते पर्सास्थित छिपहरमाई गाउँपालिका–३ छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई बोक्सीको आरोपमा कुटपिट भयो। ती महिलालाई अर्धनग्न बनाई, कालोमोसो र जुत्ताको माला लगाइदिएर स्थानीयले गाउँ परिक्रमा गराएका थिए। प्रहरीले पछि मात्रै थाहा पाएको उक्त घटनामा चारजना पक्राउ परे पनि उनीहरू धरौटीमा छुटिसके। 

घटना २
सिरहा नवराजपुर–५ कुसुन्डीकी ४५ वर्षीया एक महिलामाथि गत भदौ २९ गते बोक्सीकै आरोपमा स्थानीयले निर्घात कुटपिट गरे। गाउँमा बच्चा बिरामी भएको र अर्का एकको चट्याङ लागेर मृत्यु भएको घटनामा ती महिलाले टुनामुना लगाएर मारेको भन्दै बोक्सी आरोपमा मध्यरातमा उनीमाथि कुटपिट गरियो। ती महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो। प्रहरीले पीडितबाट उजुरी लिएर घटनाको छानबिन अघि बढाएको छ। 

घटना ३
बोक्सीको आरोपमा सप्तरीको महदेवा गाउँपालिका–४ परसाहीकी ३० वर्षीया एक महिलामाथि जेठ २५ मा दोस्रोपटक कुटपिट भयो। उनलाई परिवार र आफन्तैले पिटेका थिए। एक नवजात शिशुको मृत्यु भएको घटनामा ‘मेरो नातिनी खाइस्’ भन्दै कुटपिट भएको थियो। २०७० सालमा पनि ती महिलालाई बोक्सीकै आरोपमा कुटपिट भएको थियो। यो घटना गाउँमै मिलाइएको थियो। 

बोक्सीको आरोपमा महिलामाथि भइरहेका अत्याचार र उनीहरू कतिसम्म पीडा सहन विवश छन् भन्ने संकेत माथिका घटनाले गर्छन्। एक हप्ताअघि मात्रै मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा अर्की एक महिलामाथि बोक्सीको आरोपमा त्रिशूल र अगुल्टा प्रहार भयो। धामीको नाममा धनहीरा राईले ती महिलालाई बर्बरतापूर्ण आक्रमण गरिन्। प्रहरीले अहिले राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। 

सामाजिक न्याय पाउनबाट टाढै रहेका यस्ता महिलाको मानव अधिकारको दयनीय अवस्था बारम्बार सार्वजनिक भइरहेका छन्। 

महिलाविरुद्ध धार्मिक एवं सांस्कृतिक, सामाजिक, शारीरिक, मानसिक र यौनजन्य लगायतका हिंसा हुँदा स्थानीय ‘पञ्चायत’का नाममा घटना छिनोफानो लगाउने प्रवृत्ति नेपाली समाजमा अझै कायम छ। पञ्चायतका नाममा महिलालाई बोक्सी ठहर्‍याउने संस्कार विशेषगरी तराईका केही जिल्लामा अझै कायम छ। बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउनेदेखि अर्धनग्न बनाई गाउँ परिक्रमा गराउने र निर्घात कुटपिट गर्ने घटना बारम्बार दोहोरिँदा पनि कानुन कार्यान्वयनको पाटोमा स्थानीय सरकार चुकेको पाइन्छ। प्रहरी प्रशासन उजुरी कुर्ने परम्परागत शैलीबाट अझै माथि उठ्न सकेको देखिँदैन। घटनाको चौतर्फी आलोचना भइसकेपछि मात्रै स्थानीय सरकार र प्रहरी प्रशासन कारबाहीमा उत्रने गरेका छन्। 

प्रहरी प्रधान कार्यालयको आँकडा हेर्दा महिला हिंसाका घटना बर्सेनि बढ्दो छ। बोक्सीको आरोपमा महिलामाथि हुने ज्यादतीका घटना प्रहरीमा दर्ता भएको अभिलेख हेर्दा थपघट देखिए पनि न्यूनीकरणको प्रयास देखिँदैन। 

प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले बोक्सीका घटनाको सूचना पाउने बित्तिकै प्रहरी कारबाहीमा उत्रिने गरेको बताए। उनले यस्ता परम्परागत रूढिवादी सोच अन्त्य गर्न प्रहरीले तराईदेखि पहाडका गाउँगाउँमा सडक नाटक, माइकिङ र पर्चापम्प्लेटमार्फत चेतना अभिवृद्धि गराउँदै आएको बताए। 

कडायतले पञ्चायत नै बसेर बोक्सीका घटना मिलाउने प्रयास प्रहरीका सूचनामा आए कारबाही गर्न पछि नहट्ने बताए। ‘कतिपय अवस्थामा कानुनले खोजेको तथ्य पुर्‍याउनुपर्छ तर घटना थाहा पाएसम्मका अवस्थामा पीडितको जाहेरी कुर्न पर्दैन भनेर स्पष्ट सर्कुलर जारी भइसकेको छ’, एसएसपी कडायतले भने, ‘प्रहरी कानुन कार्यान्वयनको पाटोमा चुकेको छैन र चुक्दैन पनि।’ यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस