छोराको नाममा कंश जन्मिएछ...

पत्रपत्रिकाबाट

विहीबार, १५ असोज २०७७, ०८ : ४०
छोराको नाममा कंश जन्मिएछ...

काठमाडौं । साँझको करिब ७ बज्दै थियो । जिल्ला प्रहरी कार्यालयको मुख्य भवनअगाडि चहलपहल बाक्लिन थाल्यो । प्रहरी सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा समातिएका मस्टा गाउँपालिका–२ का राजेन्द्र बोहरालाई मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै थिए । सय मिटर तलतिरको सल्लाघारीमा एक दम्पती एकदमै हतास र उदास देखिन्थे । मुखमा नीलो सर्जिकल मास्क लगाएका दुवै जनाको अनुहार पनि कालोनीलोझैं थियो ।

रूखको फेदमा अडेस लगाएर बसिरहेका उनीहरूको छेवैमा एउटा सानो बालक खेलिरहेको थियो । नजिकैको प्रहरी कार्यालयमा भइरहेको चहलपहलबारे पत्तै नपाएझैं बूढाबूढी घरी एकटकले आकाशतर्फ हेर्थे, घरी खुइय सुस्केरा हाल्दै भुइँतिर हेरेर टोलाउँथे । प्रहरीले सार्वजनिक गर्न लागेका अभियुक्त राजेन्द्रका आमाबुबा उनीहरू नै थिए । बुबा वीरबहादुरको मलिन अनुहारमा विरक्ति झल्किरहेको देखिन्थ्यो । आमा लछुदेवी पनि उत्तिकै उदास देखिन्थिन् । उनी आफ्नै सुरमा अघिल्तिर खेलिरहेको सानो नातिलाई तान्दै काखमा राख्न खोजिरहेकी थिइन् ।

छोराका बारेमा केही बोल्न अनुरोध गर्दा सुरुमा वीरबहादुर तर्किए । ‘पुलिसले जाँचबुझ गर्दै छ, तपाईंसँग के बोलुँ । बोल्नैपरे ठाउँमै बोलुँला,’ यति भनेर उनी फेरि आकाशतर्फ हेर्न थाले । पत्रकारको परिचय दिँदै आफूसँग बोलेकै कारण कुनै अप्ठ्यारो नपर्नेमा आश्वस्त पारेपछि बल्ल उनी कुराकानी गर्न राजी भए । लामो सुस्केरा हाल्दै वीरबहादुरले भने, ‘सन्तानको रूपमा कंश जन्मिएछ । यसले हामीलाई कहिल्यै शान्ति दिएन ।’ त्यसपछि निकै खुलेर बोल्न थालेका उनले राजेन्द्रको अपराधकर्मबारे बेलीविस्तार लगाउन थाले ।

‘यसको दामलका ३४ जना यस्तै अपराधमा लागेका छन् । ऊ गाउँमा घर फोर्ने, दोकान चोर्ने काम गर्थ्यो । कहिले कसको, कहिले कसको अपराध गरेर आउँथ्यो,’ उनले भने, ‘कति पिटें, कति थर्काएँ, मान्दै मानेन । आज यो दिन देख्नुपर्‍यो ।’ राजेन्द्रले गरेका सानातिना अपराधमा आफूले थुप्रै जरिवाना तिर्नुपरेको तर पछिल्लो समय भने वास्तै गर्न छाडेको वीरबहादुरले बताए । उस्तै खालका साथीसँगातीले गर्दा छोरो यसरी उद्दण्ड बन्दै गएको हुन सक्ने उनले बताए । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस