दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र बुकिङ

पत्रपत्रिकाबाट

शनिबार, १० असोज २०७७, ०८ : ०९
दशैँको अग्रिम टिकट कात्तिक लागेपछि मात्र बुकिङ

काठमाडौं । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातले दशैँका लागि अग्रिम टिकट बुकिङ कात्तिक लागेपछि मात्र खुलाउने भएको छन् । हाल अधिकांश मानिसले काठमाडौँ उपत्यका छाडिसकेकाले हतार गर्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । 

कलेज तथा विद्यालय पनि खुला नभएकाले निकै कम विद्यार्थी मात्र काठमाडौँमा रहेकाले ढिलो गरी खुलाए पनि हुने महासङ्घले जनाएको छ । विगतका वर्षमा जस्तो यसपालिको दशैँमा यात्रुको त्यति चाप नहुने महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरको भनाइ छ तर विगतमा जस्तो नभए पनि यात्रुको चाप सामान्य दिनभन्दा बढी नै हुने उनको दाबी छ ।

दशैँका अवसरमा पूर्ण सिट क्षमतामा बस सञ्चालन गर्नुपर्ने व्यवसायीको माग छ । आधा क्षमतामा, यात्रुको चाप बढेर भीड अनियन्त्रित हुनसक्ने र माग पनि नधान्ने वरिष्ठ उपाध्यक्ष स्वाँरले जानकारी दिए । यसैबीच चाडबाडमा सार्वजनिक सवारीसाधनको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले असोज ११ व्यवसायीसँग बैठकको आयोजना गरेको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस