१५ दिन भित्र मन्त्रिमण्डल पूर्नगठन, को पर्लान्, को फालिएलान् ?

सफल खबर संवाददाता

आइतबार, २८ भदौ २०७७, ०९ : ४४
१५ दिन भित्र मन्त्रिमण्डल पूर्नगठन, को पर्लान्, को फालिएलान् ?

काठमाडौं । पार्टीभित्रको लामो समय देखिको विवाद हल गरेर बिर्सजन गराएका नेकपाका दुई अध्यक्ष अब संघ देखि प्रदेशसम्मको मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा जुट्ने भएका छन् । स्थायी समिति बैठकबाट विवादलाई विर्सजन गरेका दुई अध्यक्षले अबको एक बसाईपछि क्याबिनेट हेरफेर लगायतका विषयमा केन्द्रीत रहेर छलफल गर्ने सम्भावना रहेको नेताहरुको भनाई छ । 

स्थायी समिति बैठकले आवश्यकताका आधारमा संघीय सरकार देखि प्रदेश सरकारसम्मका मन्त्रिमण्डल पूर्नगठन गर्ने तर त्यसका लागि निश्चित मापदण्ड बनाएर गरिने नीतिगत प्रस्ताव पारित गरिसकेको छ । अब त्यही प्रस्तावका आधारमा मन्त्रिपरिषद पूर्नगठनको चर्चा शुरु भईसकेको छ ।  अबको एक महिनामा दशैं आउने र त्यसको चहलपहल अबको १५ दिनबाट शुरु भईसक्ने भएकोले पनि प्रधानमन्त्री केपी ओलीले १५ दिनभित्रै सरकार पूर्नगठन गरि सक्नेछन् । त्यसो हुदा को को अहिलेको सरकारबाट बाहिरिन्छन् ? को को भित्र लाने भन्ने बहस पनि शुरु भईसकेको छ । 

केही मन्त्रीहरु आफु क्याबिनेटभित्रै सुरक्षित हुन र कोही नयाँ मन्त्रीका रुपमा भित्रन दौडधुपमा समेत लागिसकेका छन् । ओलीले पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन, नेताहरुको ब्यवस्थापन गर्न र अबको सरकारलाई आगामी चुनावसम्मै प्रभावकारी बनाएर लैजानका लागि पार्टीभित्रकै प्रभावशाली नेताहरुलाई र परिणाम देखाउन सक्ने नेतालाई मन्त्री बनाउने चर्चा छ । त्यसो हुँदा अहिले राज्यमन्त्री रहेका तिनै जना राज्यमन्त्रीलाई बिदाई गर्ने, दुई वटा मन्त्रालय फुटाउने र मन्त्रिमण्डल पूर्नगठन गर्ने तयारीमा प्रधानमन्त्री ओली छन् ।

संविधानमै २५ जना सम्मको मात्र मन्त्रिपरिषद् बनाउन पाउने ब्यवस्थाका कारण ओलीले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय फुटाएरै नेताहरुको ब्यवस्थापन गर्न खोजेका हुन् । यस विषयमा दुई अध्यक्षका बीचमा सामान्य परामर्श भने भईसकेको पनि निकट स्रोतले बताएको छ । तर मूर्त रुपमा भने अबको भेटवार्तापछि हुने बताइन्छ । पार्टी सचिवालयका कति नेता क्याबिनेटमा रहन्छन् ?

त्यसले अन्य नेताहरुको मन्त्रालयका बारेमा टुंगो लाग्ने र फालिनेको पनि लेखाजोखा हुन सक्ने विश्लेषण पनि नेकपाभित्र छ । पूर्व प्रधानमन्त्री रहेका बाहेक अन्य नेतालाई क्याबिनेटमा ब्यवस्थापन गर्ने की भन्ने बहस पनि वालुवाटारमा हुन थालेको छ ।

अहिले ९ सदस्य सचिवालयमा ३ नेता क्याबिनेटमा छन् । प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पूर्व प्रधानमन्त्री भईसकेका नेता हुन् । बाँकी रहेका वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र विष्णु पौडेल हुन् । ओलीले सचिवालयमा रहेका पोखरेल र गृहमन्त्री बादललाई सरकारमै टिकाइराख्ने रणनीति बनाएका छन् ।

पोखरेल आर्थिक रुपमा विवादमा आएपनि सरकारबाट हटाउदा आफ्नो क्याम्प परिवर्तन गर्न सक्ने र सानो चित्त भएको नेता भएकोले जुनकुनै दिनमा मन्त्री नपाएको झोकमा गुट परिवर्तन गर्न सक्ने बुझाईमा बालुवाटार देखिएको छ । पोखरेल अब पार्टी नेतृत्वमा नपुग्ने र प्रधानमन्त्री पनि हुन नसक्ने नेता भएकोले मन्त्रीमै रमाईराख्ने भएकाले उनलाई त्यही मन्त्री पदमा झुलाईरहने योजनामा बालुवाटार छ ।

त उनलाई अहिले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारीबाट भने फेर्ने तयारी रहेको स्रोत बताउँछ । सेनासँग पछिल्ला दिनमा विवादमा आएपछि उनको रक्षा मन्त्रालय पद धरापमा परेको हो । उनलाई मन्त्रालय फेरिन सक्ने संकेत बालुवाटारले गरेको र सँगै अर्थ, परराष्ट्र र गृहमा आँखा नलगाउन सन्देश पनि दिईसकेको स्रोत बताउँछ । यसो हुँदा उनलाई उपप्रधान तथा सञ्चार प्रविधि या उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा पर्न सक्ने सम्भावना रहेको बताइन्छ । गृहमन्त्री थापालाई भने गृहमै निरन्तरता दिने योजनामा ओली देखिन्छन् । उनको मन्त्रालय परिवर्तन गर्दा उपप्रधानमन्त्री थप गरिदिनुपर्ने बाध्यता र हटाउदा पार्टी सचिवालयमा अहिलेसम्म मौन बसेर साथ दिईरहेका कारण पनि ओली उनलाई निरन्तरता दिने योजनामा देखिएका छन् ।

ओलीले गौतमलाई राष्ट्रिय सभामा लाने तर मन्त्री नबनाउने योजना बनाएको पनि बुझिन्छ । त्यसो हुँदा पोखरेललाई क्याबिनेटमा सुरक्षित राख्न सकिनेमा ओली देखिन्छन् । गौतमलाई लैजादा पोखरेललाई बिदा गर्नुपर्ने हुन सक्छ । उनले वरु प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भने सरकारमा लिन सक्ने सम्भावना रहेको श्रोत बताउछ । महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मा दिन सक्ने पनि सम्भावना रहेको देखिन्छ । तर पार्टी महासचिव रहेको, निकट भविश्यमा महाधिवशेन केन्द्रीत हुनुपर्ने भएकोले के गर्ने भन्ने कुनै टुंगोमा नपुगिएको स्रोत बताउँछ । सचिवालयका नेताहरुको ब्यवस्थापन पहिले भएपछि मात्र अन्य फालिने मन्त्री र नयाँ मन्त्रीहरु आउन सक्ने सम्भावनाका बारेमा चर्चा शुरु हुने बताइन्छ ।

नयाँ मन्त्रीका लागि पम्फा भुषाल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल लगायतको चर्चा बढी छ । उनीहरुले खोज्ने मन्त्रालय र दिइने मन्त्रालयका बिचमा पनि छलफल चल्दैछ ।  पदमा अर्याल, जगत विश्वकर्मा लगायतका मन्त्रीलाई पनि अब बिदा गर्ने तयारीमा ओली देखिन्छन् । अन्यका हकमा भने अझै के गर्ने भन्नेमा अन्यौलता देखिन्छ । करिब १० जना सम्म मन्त्रीहरु फेरिने गरी मन्त्रीमण्डल पूर्नगठन गर्ने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस