‘कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन’

रासस

सोमबार, २२ भदौ २०७७, १९ : ५८
‘कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन’

काठमाडौं । कोभिड–१९ बाट सङ्क्रमणमुक्त हुनुभएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताउनुभएको छ ।

आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उहाँले यसबाट सजग रहन सबैलाई अनुरोध गर्नुभयो । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उहाँको भनाइ छ । 

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।” 

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उहाँको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोराउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. काकीले बताउनुभयो । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उहाँले भन्नुभयो, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।” कोरोना अरु भाइरसजस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताउनुभयो । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उहाँले सबैलाई अनुरोध गर्नुभयो ।

देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”

प्रतिक्रिया दिनुहोस