पुरानो मेडिकल कलेज र रोटरी क्लबबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, १० भदौ २०७७, १५ : ०६
पुरानो मेडिकल कलेज र रोटरी क्लबबीच सम्झौता

चितवन । पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवनबीच एक स्मरण पत्रमा हस्ताक्षर भएको छ। रोटा वर्ष २० र २१ मा मेडिकल कलेज र क्लबको संयुक्त आयोजनामा वर्षमा ३ ओटा डेन्टल क्याम्प हुनेछ भने कम्तीमा पनि एउटा मेगा हेल्थ क्याम्प आयोजना गरिने उक्त सम्झौतामा उल्लेख गरिएको छ। साथै उक्त क्याम्पबाट आएकालाई कलेजले अधिकमा ५५ प्रतिशत र न्यूनतम १५ प्रतिशतसम्म छुट दिइने स्मरणपत्रमा हस्ताक्षर भएको छ। 

यस वर्ष उक्त सम्झौताले आर्थिक विपन्न समूहलाई टेवा पुग्ने  रोटरी क्लब अफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिति प्रमुख राजन पियाले बताए । निजी क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पताल तर्फका सेवामा छुट पाउने छन् ।

यस  पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख सञ्चालन अधिकृत डा सुप्रभात श्रेष्ठ  र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया  तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पियाले हस्ताक्षर गरेका थिए । 

कार्यक्रममा पूर्व अध्यक्ष  चर्द्रमणि श्रेष्ठ, सरद गोपाल न्यान्छो, उत्तमलाल चुके,  मनोज बर्नवला, रोट्याक्टका तर्फबाट अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभास रोय, सदस्य डा विकास साहको उपस्थिति थियो। रोटरी क्लब चितवनमा  एक कार्यक्रमका बीच उक्त  पत्र सार्वजनिक गरियो । 

कार्यक्रममा अध्यक्ष रोशन पियाले गत वर्षजस्तै यस वर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवा लिने विस्वास व्यक्त गरेका थिए। देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यस अस्पतालमा पहिला देखिनै स्वास्थ बिमा, कडा रोग, डायलाइसिस सेवा, निःशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु भएको छ ।

क्याम्पबाट रिफरेन्स वार्ड लिएर आउनेहरुलाई अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने कुरा अस्पतालका निर्देशक डा मनोहर प्रधानले बताए । सेवाग्राहीलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै  सम्पर्क व्यक्तिको व्यवस्था गरिने र  निशुल्क स्वास्थ्य शिविरले राम्रो टेवा दिने अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए।

रोटरी क्लब अफ चितवनले  रोट्र्याक क्लब अफ चितवन र प्रोटेक्ट नेपालको साझेदारीमा सोमबार पुरानो मेडिकल कलेजमा कार्यरत सम्पूर्ण डाक्टरहरूलाई फेस शिल्ड र मास्क वितरण गरेको छ । उक्त उपकरणले अग्रपंक्तिमा कार्यरत सम्पूर्णलाई कोभिड १९ विरुद्ध लड्ने हौसला र सुरक्षा प्रदान गर्ने क्लबका अध्यक्ष रोशन पियाले जानकारी दिए  ।

दिनदिनै बढिरहेको महामारी र त्यसको हटस्पोट स्वरूप बन्दै आएको पुरानो मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मीलाई टेवा दिन उक्त सामग्री हस्तान्तरण गरिएको प्रोटेक्ट नेपाल चितवनका कोर्डिनेटर तथा रोट्याक्ट चितवनका उपाध्यक्ष  प्रभासले जानकारी दिए । यसअघि पनि प्रोटेक्ट नेपालले रोटरी चितवनको नै सहकार्यमा आँखा अस्पतालमा पनि सामग्री वितरण गरेको छ भने देशभरी १५००० फेससिल्ड वितरण भइसकेको प्रोजेक्टका प्रमुख डा रोशिना थापाले जानकारी दिए ।

साथै आर्थिक सहयोग आए रेडजोनमा अझै सहयोग गर्ने प्लान राखेको पनि उनले जानकारी दिए ।  कार्यक्रममा अस्पतालका अतिरिक्त  निर्देशक डा मनोहर प्रधानले अस्पतालले यो विषम परिस्थितिमा आफू र आफ्नो टिम अहोरात्र खटिएर काम गरेको र हाल कोभिड १९ संक्रमितमात्र ३ चिकित्सकसँगै अन्य बिरामी  अस्पतालमा उपचार्थ रहेको जानकारी दिए। प्रमुख कार्यकारी अधिकृत डा सुप्रभात श्रेष्ठ  मेडिकल कलेजले आफ्नो सम्पूर्ण तयारी गरी कलेजमा बिरामीको उपचार भइरहेको र बिरामीको अवस्थाबारे आफैँ प्रत्येक क्षण जिल्लाका सम्पूर्ण सरोकारवालासँग समन्वय गरिरहेको  जानकारी दिए ।  

कार्यक्रममा कलेजतर्फ अतिरिक्त निर्देशक डा मनोहर प्रधान र प्रमुख कार्यकारी अधकृत डा सुप्रभात श्रेष्ठ  र रोटरी क्लब अफ चितवन तर्फबाट अध्यक्ष रोशन पिया  तथा दन्त तथा मुख स्वास्थ्य विभाग प्रमुख राजन पिया, पूर्व अध्यक्ष चन्द्रमणि श्रेष्ठ, सरद गोपाल न्यान्छो, उत्तमलाल चुके, मनोज बर्नवला, रोट्रयाक्टका तर्फबाट अध्यक्ष रोशन खरेल, उपाध्यक्ष प्रभास रोय, सदस्य विकास साहको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस