विश्वकप छनोट : नेपाल जिम्बावेसँग ११६ रनले पराजित

सोमबार, २१ फागुन २०७४, ०७ : ४२
विश्वकप छनोट : नेपाल  जिम्बावेसँग ११६ रनले पराजित

काठमाडौं ।  आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल आयोजक तथा टेष्ट राष्ट्र  जिम्बावेसँग पराजित भएको छ । आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको हो ।
बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको  मैदानमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६४ रन बनाउन सक्यो । सन् १९८३ पछि लगातार विश्वकप खेल्दै आएको जिम्बावेविरुद्ध जित निकाल्न नसकेपनि नेपाली ब्याट्सम्यान टिकेर खेलेको थियो । नेपालको सम्मानजनक स्कोरमा शरद भेषवाकर र आरिफ शेखले अर्धशतकीय पारी खेले ।

शरदले ४८ बलमा ६ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए । यस्तै आरिफले ५८ बलमा ५ चौकासहित ५० रन बनाएर पेभेलियन फर्किए । त्यस्तै कप्तान पारस खड्काले ४० तथा ओपनर ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । दिलिप नाथ २ रनमा आउट हुँदा दिपेन्द्र सिहं ऐरीले २३ रन जोडे । नेपालका सोमपाल कामी १२ तथा सन्दिप लामिछाने ७ रनमा अविजित रहे ।

जिम्बावेका सिकन्दर राजाले ३ तथा ब्रेइन भिटोरीले २ विकेट लिए । यस्तै केली जार्भिस, टेण्डई छतरा र ग्रेमर क्रिमरले समान १ – १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको जिम्बावेले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३८० रनको उच्च योगफल तयार गरेको थियो । जिम्बावेको विशाल योगफलको लागि ब्रेण्डन टेलर र सिकन्दर राजाले शतकीय पारी खेलेका थिए ।

नेपालविरुद्ध आक्रामक ब्याटिङ्ग गरेको राजाले १२३ रन बनाए । उनले ६६ बलमा ९ छक्का र ७ चौका प्रहार गरे । त्यस्तै, टेलरले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे । दुवैले पाँचौ विकेटको लागि १५० रनको साझेदारी गरेका थिए । त्यस्तै जिम्बावेका आगि सोलोमन मिरेले अर्धशतक बनाउँदै ५२ रन बनाए भने सेफास झुवाओले ४१ रनाए । क्र्याग इर्भिनले ३४ तथा हामिल्टन मसाकाड्जाले १७ रन बनाए ।

जिम्बावेविरुद्ध नेपालका कुनै पनि बलरले राम्रो बलिङ गर्न सकेनन् । नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान २–२ विकेट लिए । त्यस्तै, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिएका छन् ।

छनोटको ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले अब स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ ।  विश्वकप छनोटको समूह बी मा रहेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा , अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । छनोटको समूह ए मा वेष्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहेका छन् ।

पाँच राष्ट्र सम्मलित समूह बी को शिर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । शिर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ ।  यस्तै सुपर सिक्समा पुग्ने टोलीले एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाउने छ ।

प्रतिक्रिया दिनुहोस