नेपाल आज टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

आइतबार, २० फागुन २०७४, ०९ : ५९
नेपाल आज टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज (आइतबार) आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गर्दैछ । ‘सुपर सिक्स’मा पुग्ने लक्ष्य लिएको नेपालले आज घरेलु टोलीसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।

विश्वकप छनोटको समूह बी मा रहेको नेपाल र जिम्बाबेबीचको खेल नेपाली समय अनुसार दिउसो १ : १५ मा सुरु हुनेछ । दुई टोलीबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा हुनेछ  । र, दुवै टोली पहिलो खेल जित्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बनेको नेपालले जिम्बाबेसँग पहिलो पटक खेल्न लागेको हो । उमेर समूहमा भने नेपालले जिम्बाबेलाई एक पटक हराईसकेको छ । नेपालले सन् २००८ को यू–१९ विश्वकपमा जिम्बाबेलाई हराएको थियो ।

टेष्ट राष्ट्र जिम्बाबेले सन् १९८३ यता लगातार विश्वकप खेल्दै आएको छ । त्यसैले एसोसियट राष्ट्र नेपाललाई बलियो प्रतिद्वन्द्वी जिम्बाबेमाथि जित निकाल्न कठिन हुने देखिन्छ ।  तर, नेपाली टोलीका कप्तान पारस खड्काले प्रतियोगिता नेपालको लागि गार्हो भएपनि नेपालले ‘सुपर सिक्स’ मा पुग्ने लक्ष्य लिएको बताउछन् । “विश्वकपमा मात्र दुई टिम छनोट हुन्छ, हामीलाई सजिलो छैन,” जिम्बाबे जानु अघि नेपाली टोलीका कप्तान पारसले भनेका थिए, “ त्यसैले हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्समा पुग्ने हो । सुपर सिक्समा पुगेपछि हामी विश्वकप छनोटको सपना देख्छौँ ।”

पाँच राष्ट्र सम्मलित समूह बी को शिर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् । शिर्ष ६ भित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ । नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ ।  यस्तै सुपर सिक्समा पुग्ने टोलीले एकदिवसीय अन्तर्रा्ष्ट्रिय मान्यता पाउने छ ।

यता, जिम्बाबे पनि विश्वकप खेल्ने लक्ष्यसहित नेपालविरुद्ध खेल्ने छ । नेपालसँगको खेलअघि जिम्बाबेका प्रशिक्षक हेथ स्ट्रेकले आइसीसीसँग भने, “हामी घरेलु मैदानमा खेल्दौ छौं । घरेलु समर्थन हाम्रो लागि बिशेष हुनेछ । हामी कठिन समूहमा छौ तर हामी कुनै टोलीलाई कमजोर मान्ने छैनौं,  हामीले यसअघि विश्वकप खेलिसकेका छौं । सन् २०१९ को विश्वकपमा छनोट हुन हाम्रो लागी निकै चुनौती हुनेछ । तर, हामी इंग्ल्यान्ड र वेल्सको विश्वकपमा हुने छौ ।”

समूह चरणमा नेपालले जिम्बाबेपछि स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग खेल्नेछ । नेपालले स्कटल्याण्डसँग मार्च ८ मा , अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । छनोटको समूह ए मा वेष्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र यूएई रहेका छन् ।

यस्तोमा नेपाललाई शिर्ष ६ भित्र अटाउन असम्भव जस्तै देखिन्छ । तर, कप्तान पारसले नामिबियामा गरेको प्रदर्शनले आश जगाएको बताउँदै नेपाललाई लक्ष्यमा पुग्न गाह्रो नहुने बताए ।  “हामी यहाँ उत्साहित छौ, हामीले नामिबियामा राम्रो क्रिकेट खेल्यौँ, हामी त्यसलाई निरन्तरता दिन चाहन्छौं,” कप्तान पारसले आइसीसीसँग भनेका छन् , “हामीलाई भन्दा ठुलो टोलीलाई प्रेसर हुनेछ, हामीलाई पनि छ । तर, हामीलाई विश्वास छ कि अघि बढ्नको लागि हामीले सबै तरिका अपनाउने छौ ।”

विश्वकप छनोट खेल्ने नेपाली टोली :

पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

शक्ति गौचन

बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

करण केसी

आरिफ शेख

सन्दीप लामिछाने

दीपेन्द्रसिंह ऐरी

दिलीप नाथ

ललित भण्डारी

अनिलकुमार साह

रोहितकुमार पौडेल

ललितनारायण राजवंशी

प्रतिक्रिया दिनुहोस