लामो समय सेयर रोक्का नहुने

पत्रपत्रिकाबाट

आइतबार, ३२ साउन २०७७, ०७ : ४८
लामो समय सेयर रोक्का नहुने

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत सङ्गठित संस्था आपसमा गाभिन तथा प्राप्ति (मर्ज वा एक्विजिसन) प्रक्रियामा हुँदा लामो समयसम्म सेयर कारोबार रोक्का भइरहने अवस्थाको अन्त्य हुने भएको छ । यस्ता कम्पनी मर्ज हुने तथा एक्विजिसन प्रक्रियामा जाँदा लगानीकर्ताले झन्डै एक वर्षसम्म आफ्नो सेयर रोक्का भएर अन्योल हुनुपर्ने अवस्था थियो ।

त्यस्तो समस्या समाधान गर्नेगरी नेपाल धितोपत्र बोर्डले ‘सूचीकृत सङ्गठित संस्था आपसमा मर्ज तथा एक्विजिसनसम्बन्धी निर्देशिका’ ल्याउन लागेको छ ।नेपाल स्टक एक्सचेन्जमा सूूचीकृत कम्पनी मर्जर वा प्राप्तिमा जानु परे नेपाल धितोपत्र बोर्डको पूर्वस्वीकृति लिनुपर्ने तथा स्वाप रेसियो पनि बोर्डबाट पारित गराउनुपर्ने प्रस्ताव निर्देशिकामा गरिएको छ ।

धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्न सूचीकृत संस्था मर्ज गर्ने तथा एक्विजिसनका लागि बोर्डले नयाँ निर्देशिका ल्याउन प्रक्रिया अगाडि बढाएको छ । प्रस्तावित निर्देशिकाले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हितका लागि धितोपत्रको कारोबार र विनियमावली व्यवस्थित गर्ने, कारोबारी संस्थाहरू गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी विद्यमान प्रावधानलाई सरलीकरण गर्ने बोर्डले जनाएको छ । गोरखापत्रमा खबर छ ।