एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी

रासस

शुक्रबार, ३० साउन २०७७, १९ : ४९
एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी

फाइल फोटो

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाखभन्दा बढी चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । 

कार्यालयमा भीड भएको भन्दै अनुमतिपत्र वितरण हाललाई स्थगित गरिएको जनाएको छ । कार्यालयले विभागबाट छापिएर आएका धेरै अनुमतिपत्र वितरण गर्न बाँकी रहेका जानकारी दिएको छ । सरकारले गत चैतदेखि जारी बन्दाबन्दी असारदेखि खुल्ला गरेपछि कार्यालयले असार र साउनको दोस्रो सातासम्म अनुमतिपत्र वितरण गरेको थियो ।

बन्दाबन्दीपछि झण्डै ४० हजार अनुमतिपत्र वितरण गरिएको कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले बताउनुभयो । कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ अनुमतिपत्रको परीक्षा र अनुमतिपत्र दिने दुवै काम रोकिएको छ । उहाँले भन्नुभयो, “अहिले हामीले नवीकरण मात्रै गरिरहेका छौँ ।”

यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा समेत अनुमतिपत्र छपाइ गरिरहेको थियो । गत पुससम्मको अनुमतिपत्र छपाइ भएर आइसकेको उहाँले जानकारी दिनुभयो । विभागले छपाइ जारी राखेकाले चैत पहिलेका अनुमतिपत्र समेत छपाइ चाँडो भइसक्ने बताइएको छ ।

वितरण र नयाँ अनुमतिपत्रका लागि परीक्षा भने तत्काल खुल्ला नहुने देखिएको छ । उहाँले भन्नुभयो, “उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले यी सेवा बन्द गरेका छौँ ।”केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।

अहिले उपत्यकामा चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी यात्रुको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । बन्दाबन्दीपछि कार्यालयमा भीडभाड अत्यधिक भएकाले सङ्क्रमणको त्रास रहेको थियो ।

प्रतिक्रिया दिनुहोस