नदीआश्रित समुदायलाई माछा मार्न अनुमतिपत्रसँगै पोशाक प्रदान

रासस

सोमबार, १९ साउन २०७७, १० : ४१
नदीआश्रित समुदायलाई माछा मार्न अनुमतिपत्रसँगै पोशाक प्रदान

फाइल फोटो

– नारायण अधिकारी
चितवन । चितवन राष्ट्रिय निकुञ्जले नदी वरपर आश्रित समुदायलाई माछा मार्ने अनुमति पत्रसँगै पोशाक वितरण गरेको छ । निकुञ्जले २८३ जना बोटे, दराई, कुमाल र थारु समुदायका माछा मार्नेलाई अनुमति पत्र र पोशाक वितरण गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले उनीहरुलाई ती सामग्री वितरण गर्नुभएको हो । राष्ट्रिय निकुञ्ज नियमावली २०३० को पहिलो संशोधनमा माछा मारी जीविको चलाउने समुदायलाई वार्षिक रु १०० शुल्क तिरि माछा मार्न दिने व्यवस्था छ । 

निकुञ्जले माछा मार्ने अनुमति पत्र ‘लाइसेन्स’ नवीकरण गरी उनीहरुलाई ज्याकेट पनि वितरण गरेको हो । प्रमुखरुपाखेतीका अनुसार माछा मार्ने लागि अनुमति पत्रका साथमा पोसाकको व्यवस्था पहिलो पटक गरिएको हो ।  उहाँलेभन्नुभयो, “यसो गर्दा निकुञ्ज क्षेत्रमा अनाधिकृत तरिकाले प्रवेश गर्नेलाई रोक्न सक्छ ।”

पोशाक लगाएर माछा मार्ने गरेपछि टाढैबाट पहिचान हुने भएकाले अनुगमन गर्न पनि सजिलो हुने उहाँको भनाइ छ । पोशाकमा निकुञ्जको लोगो र परिचय राखिएको छ भने पछाडि परिचयपत्र नम्बर राखिएको छ । निकुञ्जबाट लिइएको परिचयपत्रकै अङ्क पोशाकमा र डुङ्गामा उल्लेख छ ।

अनुमति पत्र लिएकाले बिहान ६ देखि साँझ ५ बजेसम्म निकुञ्जले तोकेको शर्त र मापदण्डभित्र रहेर माछा मार्न पाउँछन् । वैशाखदेखि असार मसान्तसम्म भने माछाको प्रजनन समय भएकाले माछा मार्न रोक लगाईन्छ । अनुमति पत्र र पोशाक लिन आएकाले पुरानाले मात्र नभएर नयाँलाई पनि माछा मार्न अनुमति दिनुपर्ने माग गरेका थिए । सो अवसरमा खैरहनी नगरपालिका–१३ का बुद्धिराम बोटेले आफ्नो परिवार नदीमा आश्रित हुने भएकाले परिवारका अन्य सदस्यलाई पनि अनुमति पत्र दिनुपर्ने बताउनुभयो । पछिल्ला वर्षहरुमा निकुञ्जले हाते जाल प्रयोग गर्न अनुमति पत्र दिएको छैन ।

प्रतिक्रिया दिनुहोस