CG Landmark

अधबैंसे जोडीको सहारा सालको पात

रासस

आइतबार, १८ साउन २०७७, १४ : ४४
अधबैंसे जोडीको सहारा सालको पात

सांकेतिक तस्विर

– शेरिफ केसी 
तौलिहवा । चाउरिन लागेको अनुहार, जिङ्ग्रिङ परेको कपाल, एउटा टिनको छानामुनि बस्दै आएका दुई अधबैंसे जोडी । कपिलवस्तुको वाणगङ्गा–४ का दम्पत्ती भीम माया र रुकबहादुर रेश्मीको पहिचान हो । गाउँमा पात बच्ने बाआमा भन्दै चिनिने उनीहरुको निवासमा भाँचिनै लागेको खाट, पुराना र मैला परेका बिस्तारा र ससाना भाँडाकुँडा देखिन्छ । 

वर्षात्को पानी घरभित्र राखिएको खाटमुनि आहाल परेको छ । ती दुई जोडी बिहान जङ्गलका सालका पात टिपेर गाउँगाउँमा लैजान्छन् । पात बेचेर भएको आम्दानीबाट दैनिक गुजारा चलाउँदै आएका छन् । उनीहरुले बाँसका कुहिन लागेका भाटा तेर्साएर त्यसमाथि च्यातिएको कपडाले बेरेको शौचालय जस्तो बास बस्ने थलोमा साँच्चीकै कष्टकर जीवन बिताउँदै आएका छन् । 

Yeti Diistillery Tansen Cement box

बुढ्यौली शरीर, जिउमा गतिला कपडा छैनन् । घरमा अन्नको गेडो छैन । बाँसको झिक्राले बारेको टहरो मर्मत गर्न नसक्दा छानाको ठाउँठाउँमा दुलो परेको छ । घरमा नून, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या छ । 

छिमेकमा कहिलेसम्म मागेर खाने दुई दिन काम नगरे पेटमा माड पस्दैन । उमेरले भीम माया ६० र उहाँका श्रीमान्ले ७० नेटो काटिसकेका तर पनि परिश्रम गर्ने आँट र हिम्मत भने कम छैन । यो उमेरमा पनि अहिले उनीहरु जङ्गलमा गएर पात टिपेर बेच्दै आएका छन् । “मुठाको ६० पर्ने सालका पात बिक्री नहुँदा कुनै दिन त भोकै बस्छौँ”, रुकबहादुरले भने । 

चाडपर्वका बेला त सोचे जस्तै कमाइ हुन्छ, पात पनि राम्रै बिक्री हुन्छ तर कहिलेकाहीँ दुःख गरेर ल्याएका पात पनि कुहिएर जान्छन् ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका कार्यालयबाट चार किलोमिटरको दूरीमा बस्दै आएका यी दम्पतीको जिउने साहारा भनेकै सालको पात हो । रुकबहादुर भन्छन्, “बिहान बेलुका हातमुख जोर्न पनि ठेगान नभएका हामी कहिलेकाहीँ त खाना नपाएरै मर्छौं जस्तो लाग्छ ।” दिनभर जङ्गलबाट खोजेर ल्याएको पात बिक्री नहुँदा कहिले नून, भात त कहिले तातो पानी मात्रै पिएर सुत्ने गरेको उनी बताउँछन् । “कहिलेकाहीँ जङ्गल बन्द हुँदा आफ्नो गास नै खोसिएजस्तो लाग्छ”, भीममायाले भनिन् । 

फुर्सद हुँदा गाउँघरमा मल बोक्न जाने गरेको उनी बताउँछिन् । शरीरमा तागत नहुँदा डोकोमा मल खेतबारीमा पु¥याउन पनि निक्कै गारो हुन्छ । बुढेसकालमा यी दम्पती नेपाली नागरिकताविहीन अवस्थामा छन् । यसका कारण पनि उनीहरु सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुनुपरेको छ । “घरमा पानी पसेर नागरिकता बगाएको छ÷सात वर्ष भयो अझैसम्म नागरिकता बनाइदिन्छौँ भन्दै कोही आएका छैनन्”, भीममायाले दुखेसो पोखे । 

नागरिकता बनाउनका लागि धेरैसँग हारगुहार गरे पनि नागरिकता अझै बनाउन नसकेको भीममायाले दुखेसो गर्छन् । कहिलेकाहीँ श्रीमान् श्रीमती नै बिरामी हुँदा पानी र औषधि खुवाउने कोही हुँदैन । केही दिन पहिले घरकै आँगनमा चिप्लिएर श्रीमानको हात भाँचिदा पात टिप्न जङ्गल जान नपाउँदा उपचार खर्चसमेत जोड्न समस्या रहेको उनी बताउँछिन् ।

वाणगङ्गा नगरपालिका–४ का वडाध्यक्ष गणेश क्षेत्रीले नागरिकताका लागि विगत एक वर्षबाट पहल भएको बताए । उनीहरुको अवस्था नाजुक भएको थाहा पाएबाटै वडाले सानोतिनो सहयोग गरिरहेको बताउँदै आगामी दिनमा उनीहरुका समस्यालाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।