ला लिगामा रोकिएसँग बार्सिलोनाको अग्रता घट्यो

शुक्रबार, १८ फागुन २०७४, ०८ : ५३
ला लिगामा रोकिएसँग बार्सिलोनाको अग्रता घट्यो

लास पाल्मास (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले १८ औं स्थानमा रहेको लास पास्माससँग १-१ को बराबरी खेलेको छ ।

खेलको सुरुवाती मिनेटमा लास पाल्मासको गोलकिपर लियान्ड्रो चिचिजोलाले लुइस स्वारेज र लियोनल मेस्सीको एक-एक वटा प्रहार रोकेका थिए । तर खेलको २१ औं मिनेटमा बार्सिलोनाले पाएको फ्रिकिकमार्फत मेस्सीले सुन्दर गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए ।

बार्सा र पाल्मास दुवैले पहिलो हाफमा गोल गर्ने केहि मौका पाए पनि परिणत गर्न सकेका थिएनन् । त्यस्तै दोस्रो हाफको सुरुवाती मिनेटमै कर्नरमा फाउल गरेकाले बार्सिलोना विरुद्ध पेनाल्टी दिइएको थियो । सो पेनाल्टी जोनाथन कालेरीले परिणत गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

त्यसपछि बार्सिलोनाले खेलको अन्तिम मिनेटसम्म पनि आक्रमणको प्रयास गरे पनि पाल्मासको डिफेन्सको तोड निकाल्न सकेन । यस बराबरीसँग बार्सिलोनाको अग्रस्थानमा अन्तर ५ अंकमा छोटिएको छ । बार्साको २६ खेलमा ६६ अंक रहेको छ भने उत्तिकै खेलमा एट्लेटिको म्याड्रिडको ६१ र रियल म्याड्रिडको ५१ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस