विदेशबाट आउनेलाई पीसीआर परीक्षण अनिवार्य

पत्रपत्रिकाबाट

सोमबार, ०५ साउन २०७७, ०८ : २४
विदेशबाट आउनेलाई पीसीआर परीक्षण अनिवार्य

काठमाडौँ । सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको आइतबारको उच्चस्तरीय बैठकले गरेको निर्णयअनुसार विदेशवाट हवाई मार्गमार्फत आउने सबैलाई होल्डिङ सेन्टरमा ५ दिन राखेर पीसीआर परीक्षण गरेपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ । विदेशबाट स्थलमार्गबाट आउनेहरूसमेत पीसीआर परीक्षण गरेर मात्र सम्बन्धित ठाउँमा जान पाउने छन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले कोभिड संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीको समेत परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । ‘चिकित्सकको सल्लाहअनुसार अरूको पनि परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ।

विज्ञहरूले विदेशबाट आउने सबैको पीसीआर गरेपछि मात्र घर पठाउनुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आए पनि सरकारले खासै वास्ता गरेको थिएन । ‘स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने सबैको पीसीआर गर्ने निर्णय गर्नमा धेरै ढिलो गर्‍यो,’ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले भने, ‘कोरोनाको हटस्पट अमेरिका र बेलायतबाट आएकालाई समेत सोझै घर जान दिइएको थियो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस