‘अर्ली महाधिवेशन’को कार्ड मान्य हुँदैन : नेकपा अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०७७, १५ : १९
‘अर्ली महाधिवेशन’को कार्ड मान्य हुँदैन : नेकपा अध्यक्ष प्रचण्ड

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।

आइतबार प्रचण्ड निवास खुमलटारमा सचिवालयका ४ सदस्य र केही स्थायी समितिका सदस्यको भेलामा बोल्दै अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीले गरेको ‘अर्ली महाधिवेशन’ प्रस्ताव मान्य नरहेको र त्यसमा आफूहरुबीच कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।

‘ओलीजी र मेरोबीच कुनै सहमति भएको थिएन।  सहमति बिनै अर्ली महाधिवेशनको कार्ड फालियो, यो उपयुक्त छैन’, प्रचण्डले बैठकमा ब्रिफिङ गरे, ‘यसमा मेरो सहमति छैन । यो कार्यान्वयन पनि सम्भव छैन ।’

उनले मंसिरमा महाधिवेशन गर्ने भनेर जुन प्रचारबाजी गरियो त्यो प्रपोगाण्डा ठीक नभएको पनि बताएका थिए । शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच मंसिरमा महाधिवेशन गर्ने समझदारी भएको बाहिरिएको थियो । यसको वरिष्ठ नेता माधव कुमार नेपालले चर्को आलोचना गरेका थिए । 

प्रचण्डले पार्टी सचिवालय सदस्य माधवकुमार नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै समीकरण नबनेको कुरा प्रष्ट पारेका थिए । ओलीको प्रस्तावमा प्रचण्डको पनि सहमति रहेको र दुवैजनाको सहमतिमा नै यो प्रस्ताव आएको भन्दै नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु आपत्ति प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस