आफन्तले मृत्यु भनेका बिरामी निको भएर घर फर्किएपछि...

बुधबार, २४ असार २०७७, ०९ : ००
आफन्तले मृत्यु भनेका बिरामी निको भएर घर फर्किएपछि...

चितवन । उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।  भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फकिए ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताउदैं भने–‘मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्किदै छु ।’ अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे ।

अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको दाबी गर्दै उनले भने– ‘तोडफोडमा मेरो संलग्नता थिएन, आफूले नबोलाए पनि मृत्यु भएको सुनेर इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको हो ।’  एपेन्डिसाइटिसको उपचारका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो । उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो ।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा. हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर घर जान लागेको बताए । रगत नरोकिने (डिआइसी) भन्ने रोगको उपचार गरिएको थियो । रगतमा सङ्क्रमणसमेत भएकाले बचाउन निकै कठिन भएको उनले बताए ।

यो रोगको सङ्क्रमण भएका बिरामी विश्वमा नै २० प्रतिशत मात्र बच्ने सम्भावना हुने गरेको डा. न्यौपानेले अस्पतालले उपचारमा कहिल्यै लापरवाही नगर्ने भन्दै उहाँले अनावश्यक मानिसहरु भीड भएर तोडफोड र गालीगलौजमा उत्रँदा काम गर्नेहरुको मनोबल उच्च बनाउन कठिन हुने बताउनुभयो ।