सांसद सरिता गिरीलाई कारबाहीका लागि सिफारिस

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, १५ : १८
सांसद सरिता गिरीलाई कारबाहीका लागि सिफारिस

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको छ । समाजवादी पार्टीको कार्यदलले सरिता गिरीलाई सांसद पदबाट र पार्टीबाट समेत निस्कासन गर्नको लागि सिफारिस गरेको छ । 

पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका लागि सिफारिस गरिएको समाजवादी पार्टीले जनाएको छ । तथ्य र प्रमाणका आधारमा राष्ट्रिय महत्वको विषयमा पार्टी निर्देशन र ह्वीप नमानेको कारण पार्टी र संसदबाट निष्कासन गर्न सिफारिस गरिएको हो । 

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा सांसद गिरीले पार्टी ह्वीप उल्लंघन गरेकी थिइन्।

जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। संसदमा बोल्न नपाएपछि सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।  सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले पार्टी महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। 

प्रतिक्रिया दिनुहोस