खेलकुद

बार्सिलोनाको करियरमा सबैभन्दा खराब फर्ममा सुवारेज

एजेन्सी

बुधबार, १५ कार्तिक २०७४, १९ : ४२
बार्सिलोनाको करियरमा सबैभन्दा खराब फर्ममा सुवारेज


बार्सिलोना । अहिले ह्यालोविन होला, तर लुइस सुवारेज अब डरलाग्दा छैनन् । बार्सिलोनाका फरवार्डले यो सिजन मात्र तीन पटक गोल गरेका छन् भने च्याम्पियन्स लिगमा एक पनि गोल गर्न सकेका छैनन् । ओलम्पियाकोसविरुद्ध उनको खेल बिर्सन लायक थियो ।

सुवारेज लियोनेल मेस्सीसँग ४–४–२ को फर्मेसनमा खेल शुरुवात गरेका थिए । बार्सिलोनाका नयाँ प्रशिक्षक अर्नेस्टो भल्भार्डेले यो फर्मेसनलाई पछिल्लो समय नियमित रुपमा प्रयोग गरिरहेका छन् । तर, उनले अवसरहरुलाई सदुपयोग गर्न सकेनन् । गोलरहित बनेको खेलमा (च्याम्पियन्स लिगका पछिल्ला ४८ खेलमा मात्र दोस्रो गोलरहित बराबरी) सुवारेजको तथ्याङ्क निकै खराब थियो ।

उनले गरेको सात प्रहारमध्ये चार वटा लक्ष्यभन्दा बाहिर थियो, तीनवटा ब्लक गरिएको थियो । त्यसमध्ये दुई वटा अवसरलाई अरु बेला भए उनले सजिलै गोलमा परिणत गर्न सक्थे भने अर्को एउटा अवसर जसमा उनले आफै गोल गर्नुपथ्र्यो, त्यसलाई मेस्सीलाई पास दिए ।

उक्त कुराले फरवार्डको आत्मविश्वासमा आएको कमी प्रष्ट हुन्थ्यो । उनको फर्म बार्सिलोनाका लागि चिन्ताको विषय बनेको छ ।

यस सिजन उनले खेलेका १३ खेलमा उनले मात्र ३ गोल गरेका छन् भने च्याम्पियन्स लिगका चार खेलमा उनले एक पनि गोल गर्न सकेका छैनन् ।

‘जति सुवारेजले अवसर गुमाउँछन्, त्यति राम्रो,’ भाल्भार्डेले हालै भनेका थिए, ‘यसको अर्थ उनले अवसर पाइरहेका छन् ।’ तर, उरुग्वेयन स्ट्राइकरले भाल्भार्डेको भनाईको पहिलो अंशलाई मात्र गम्भिरतापूर्वक लिएको जस्तो देखिन्छ । उनी बार्सिलोनाको करियरमा अहिलेसम्मकै खराब फर्ममा रहेका छन् ।

सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका सुवारेजले क्लबका लागि डेब्यु गर्न दुई महिना पर्खन परेको थियो । ब्राजिलमा भएको विश्वकपमा इटालीका जर्जियो चिलेनीलाई टोकेको आरोपमा उनी प्रतिबन्धित थिए । त्यो सिजन उनले ४३ खेलमा २५ गोल गरे । लुइस एनरिकेको बार्सिलोनाले ट्रेबल जित्न सफल रह्यो ।

अर्को सिजन उनले ५३ खेलमा ५९ गोल गरे भने गत सिजन उनले ५१ खेलमा ३७ गोल गरे । हाल उनको १३ खेलमा ३ गोलले पछिल्ला तथ्याङ्कसँग मेल खाँदैन ।

सुवारेजको संघर्षका पनि कारणहरु छन्, पहिलो सिजनको शुरुवातमा बेटिसविरुद्धको खेलमा उनको घुँडाको चोट लागेको थियो । तर, उनलाई उरुग्वेको महत्वपूर्ण विश्वकप छनौटमा चाँडै खेलमा फर्काइयो ।

त्यस्तै, नेयमारले क्लब छाडेपछि तथा ओसमान डेम्बेले घाइते भएपछि उनी सबैभन्दा मारमा परेका छन् । डेम्बेले नै एस्पानियोलबिरुद्ध उनका लागि गोलको अवसर सृजना गरेका थिए । त्यस्तै, भाल्भार्डेले सिस्टम ल्याउने लगातारको फेरबदल र मेस्सी सेन्टरमा फर्कदाँ उनलाई अप्ठ्यारो पारेको छ ।

सुवारेज यदी आफ्नो पहिलोको फर्ममा फर्किए भने उनलाई यी कुराहरुले असर गर्ने छैन भने क्याटालान टोलीले च्याम्पियन्स लिगको उपाधि जित्ने सम्भावना बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस