११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने पक्राउ

रासस

सोमबार, २२ असार २०७७, १८ : ०७
११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने पक्राउ

जनकपुरधाम । धनुषामा एक बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

जनकपुर उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चनकुमारी पजियारको बलात्कार र हत्याको सो अभियोगमा भारतको उत्तर प्रदेशको मलिहाबाद जिल्लाको काकोरी बस्ने ३२ वर्षीय दिपु सिंहलाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको हो । पक्राउ परेका सिंह सोही ठाउँस्थित मिश्र र चौधरीको उद्योगमा विगत चार पाँच महिनादेखि कार्यरत रहेका छन् । 

यही असार १७ गते भैंसी चराउन गएकी कञ्चनलाई आँप दिने बहानामा सिंहले ललाइफकाई लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी गराए । सो उद्योगको पछाडिको भागमा अवस्थित आँपको बगैँचामा बलात्कार गरी हत्या गरेको सिंहले स्वीकार गरेको बताइएको छ ।

असार १७ गते बेपत्ता भएकी कञ्चनको शव असार १९ गते शुक्रबार दुधमती नदीको किनारमा शव फेलापरेको थियो । सो शवका साथै एक थान कम्बल पनि प्रहरीले बरामद गरेको थियो ।