बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

रासस

शनिबार, १३ असार २०७७, १६ : ०१
बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

– सिबी अधिकारी
काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्र्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् । 

    विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर्र्ड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट चार लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको जनाइएको छ ।

    राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टर्र्ड र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८ चार्टर्र्ड तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ उडान भएका छन् । यो आजसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महिनामा चार्टर्र्ड उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ । अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर्र्ड उडान गरेका छन् ।
    
    बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ अन्तरराष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महिनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाँझ शुक्रबार (जुन २६ तारिख) मात्रै आठ अन्तरराष्ट्रिय उडान गरेको जनाएको छ ।
    
निगमको अपरेशन विभागका अनुसार निगमका दुई वाइड बडी र दुई न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रबार सबैभन्दा धेरै आठ उडान गरेका छन् । निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा दुई, हङकङ दुई र मलेसियाको क्वालालम्पुरमा एक उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई र साउदी अरेबियाको रियादमा एक उडान गरेको छ । 

     असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ । शुक्रबारमात्रै १६ अन्तरराष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । असार महिनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर्र्ड उडान मार्फत स्वदेश फर्किरहेका छन् ।


    बन्दाबन्दीमा गत चैत १९ निगमले सबैभन्दा लामो गन्तब्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर्र्ड उडान गरेको  थियो । पछिल्लो पटक निगमको वाइड बडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर्र्ड उडान गरेको थियो । मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करिब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । अहिले विदेशमा अलपत्र नेपाली ल्याउनेक्रममा निगमको वाइड बडी जहाजले केही दिनअघि सिड्नी र आज क्यानबेराबाट नेपाली ल्याएको छ । 

    गत चैत १० देखि नेपालमा अन्तरराष्ट्रिय उडान भर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ । अहिले कुटनीतिक माध्यमबाट मात्रै चार्टर्र्ड उडान हुन्छ । पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्र्ड उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ सम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने जनाइएको छ ।

निगमले यूएन मिसनमा उडान गर्दै

    निगमले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा रहेका विभिन्न मुलुकमा चार्टर्र्ड उडान गर्ने भएको छ । आगामी जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर्र्ड उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।

    निगमका वाइड बडी जहाजले कङ्गो, सुडानलगायत यूएनमिसन भएका मुलुकमा चार्टर्र्ड उडान गर्ने तयारी भएको हो । यसैबीच    निगमले कोभिड महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी सेवामा खटिने सबै कर्मचारीको बीमा गरेको छ । कोभिड महामारीका बीच सञ्चालन भैरहेको अवस्थामा निगमका सबै कर्मचारीलाई कोरोनाको बीमाको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ । निगममा करिब एक हजार ५०० कर्मचारी कार्यरत छन् । निगमले अन्तरराष्ट्रियतर्फ दुई वाइड बडी र दुई न्यारोबडी जहाज तथा आन्तरिकतर्फ नौ जहाजले उडान भर्दै आएको छ ।(रासस) 

प्रतिक्रिया दिनुहोस