रमेश प्रसाईले दिए सरिता गिरीविरुद्ध प्रहरीमा जाहेरी

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, १७ : ३३
रमेश प्रसाईले दिए सरिता गिरीविरुद्ध प्रहरीमा जाहेरी

काठमाडौं । रमेश प्रसाईले नेपालको राष्ट्रियता र स्वाधिनताविरुद्ध अभिव्यक्ति दिने सांसद सरिता गिरीलाई कानूनी रुपमा दण्डित गराउनको लागि आफूहरुले प्रहरीमा जाहेरी दिएको स्पष्ट पारेका छन् । आफूहरुले दिएको जाहेरीउपर सही सुनुवाई नभए १५ दिनपछि आफू कानूनबमोजिम जाहेरी लिएर अदालत जानेपनि उनले जानकारी दिए । तर, यो बीचमा प्रहरी प्रशासनले आफ्नो उच्च व्यवसायिकता प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ । 

शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रसाईले यस्तो जानकारी गराएका हुन् । उनले सुरुवातमै भने, लकडाउनको बेलामा आफूहरु धरानबाट अत्यन्तै कष्ट गरेर काठमाडौं आईपुगेको बताउँदै उनले भने,‘जब मैले यो कार्य गर्ने निश्चय गरें, यो लकडाउनमा यहाँ आउनको लागि गाडी खोज्दा एउटा गाडीले २० देखि २५ हजार भाडा लिने गर्दो रहेछ, त्यत्रो भाडा तिर्ने आर्थिक क्षमता मसँग थिएन् । मैले काठमाडौं आउने बेलामा जब यो जाहेरी दर्ता गराउने घोषणा गरें । देश तथा विदेशबाट मेरा शुभचिन्तकहरुले फोन गरेर रमेशजी तपाईलाई कस्तो सहयोग चाहिन्छ ? कुनैपनि किसिमको सहयोग गर्न हामी तयार छौं । तपाईलाई कति आर्थिक सहयोग चाहिन्छ ? कति खर्च चाहिन्छ ? भनेर मलाई बारम्बार भन्नुभयो । तर, कसैसँग मैले आजसम्म जानेर केही लिएको छैन् । र, जीवनभरि नलिने मेरो सिद्धान्त हो ।’ र, आफूले आर्थिक सहयोग नलिएको जनाउँदै उनले काठमाडौं आउनको लागि आफ्नो परिवारले २१ हजार दुई सय ५५ रुपैयाँ उपलब्ध गराएकोपनि उनले सुनाए । काठमाडौं आउने क्रममा गाडी बिग्रिएर सिन्धुलीमा १२ घण्टासम्म बस्नुपरेको पनि उनले कष्टकर क्षण सुनाए । र, त्यहाँबाट ट्याक्सी चालकले लिफ्ट दिएर काठमाडौंसम्म ल्याईदिएको प्रसाईले जानकारी दिए । 

महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता गराएको जाहेरी रमेश प्रसाईले मात्रै दर्ता गराएको जाहेरी वा मुद्दा नभएर नेपालका सम्पूर्ण राष्ट्रभक्त नेपालीहरुले दर्ता गराएको मुद्दा भएको उनको भनाई छ । उनले भने,‘त्यसको प्रतिनिधि पात्र मात्रै रमेश प्रसाई हो । मैले प्रतिनिधित्वमात्रै गरेको हुँ । मित्र जीवनजीले अघि भन्दै हुनुहुन्थ्यो, १८ घण्टासम्म काम गरेर प्रति दिन दुई जनाले ज्यान गुमाएर कोरोनाको कहरले सोत्तर बनाएका ठाउँहरुमा आफ्ना आमा सम्झिने अलापविलाप गर्दै पठाएको रेमिट्यान्स, रगत पसिना काढेर ती नागरिकहरुले पठाएको रेमिट्यान्सबाट तलब, भक्ता खाने एक जना सांसदले जसले देशको प्रतिनिधित्व गर्नुपर्ने हो, राष्ट्रिय र अन्तराष्ट्रियतास्तरमा देशको प्रतिनिधित्व गर्नुपर्ने, देशका विचारहरुलाई पुर्याउनुपर्ने, देशको हितमा नीति निर्माण गर्नुपर्ने, गरिमामय पदमा बसेको सांसदजस्तो व्यक्तिले देशविरुद्ध अर्को राष्ट्रको पक्षमा, छिमेकी राष्ट्रको पक्षमा, देशको नीतिविरुद्ध र राष्ट्रियताविरुद्ध टिप्पणी गर्ने, यो कुनै नेपाली नागरिकलाई सह्य हुनैसक्दैन् । हामीले माननीय सांसद सरिता गिरी, जो अहिले जनता समाजवादी पार्टी, नेपालको प्रतिनिधित्व गर्नुहुन्छ, उहाँ सरिता गिरी सांसदज्यू विरुद्ध एउटा नागरिकको स्तरबाट मैले महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरुद्धको कसुरको जाहेरी दर्ता गरेको छु । राजद्रोहको उजुरी दर्ता गरेको छु । र,  त्यो जोहरी प्रहरी कार्यालयमा दर्ता भएको छ ।’

उनले अघि भने,‘सरिता गिरीले सांसदजस्तो गरिमामय पदमा बसेर सरकारले ऐतिहासिक रुपमा देशको गुमेको भूगोललाई समेटेर नक्सा सार्वजनिक गरिसकेको परिप्रेक्ष्यमा (यदि नक्सा पारित नगरिएको भए त्यहाँ एकेडेमिक छलफल गर्न सकिन्थ्यो । तर, सरकारले नक्सा सार्वजनिक गरिसकेको परिप्रेक्ष्यमा, ऐतिहाँसिक तथ्य र प्रमाणको आधारमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो भूगोल हो भनेर पुष्टि भैसकेको अवस्थामा संसदबाट समेत त्यो निर्णय अनुमोदन भएर संविधानको निशान छापसमेत सच्याएको परिप्रेक्ष्यमा उहाँले यो भूगोल नेपालको होईन, लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भन्ने कुनै प्रमाण छैन । अझ उहाँले यहासम्म भन्नुभयो कि यदि यो भूगोल नेपालको हो भनेपनि अन्तर्राष्टिय कानूनअनुसार २० वर्ष भारतले उपभोग गरेपछि भारतकै हुन्छ भन्नुभयो । यसरी भड्काउने, द्धेष फैलाउने, गलत समाचार सम्प्रेषण गर्ने एउटा सांसदजस्तो जिम्मेवार व्यक्तिले, उहाँले पटक पटक हिन्दी मधेशीको जिनमा छ भन्नुभएको छ ।’

उनले आफूहरुले जाहेरीमार्फत गिरीले राष्ट्रियतामाथि राष्ट्रघात टिप्पणी गरेको कुरालाई उठाएको, हिन्दी मधेशको जिनमा र डिएनएमा छ भनेर भनेको कुरामा पनि आपत्ति जनाउँदै उक्त विषय जोहरीमा उल्लेख गरिएको सुनाए । उनले भने,‘नेपालको सरकारी कामकाजको भाषा नेपाली हो भनेर संविधानमै स्पष्ट रुपमा लेखिएको छ । उहाँले मधेश र पहाडमा विभाजन ल्याउनेगरि नेपालको जिनमा नेपाली भाषा छ, र मधेशको जिनमा हिन्दी भाषा छ भनेर उहाँले राष्टमा विभाजन गराउने खालको टिप्पणी गर्नुभएको छ ।’ 

उनले सरिता गिरीको टिप्पणीले आफूहरुले छानेको प्रतिनिधिको शरिर चाहीँ नेपाली तर उनको आत्मा चाहीँ भारतजस्तो देखिएको टिप्पणी गरे । गिरीले भारतको प्रतिनिधित्व गरेको उनको आरोप छ । गिरीको राष्ट्रविरोधी वक्तव्य र मन्तव्यका कारण नेपालीहरुमा धेरै चोट लागेको प्रसाईले बताए । यस्तै रहिरहे कुनै दिन नेपालको संसदमा सरिता गिरी प्रवृत्तिको बहुमत नपुग्ला भन्न सकिन्छ ? भन्दै उनले प्रश्नसमेत उठाए । 

प्रसाईले सरिता गिरीको सांसद पद खारेज गराउने आफूहरुको लक्ष्य नभएको जिकिर गरे । उनले कुनै जिम्मेवारी पदमा बसेको व्यक्तिले पदबाट राजीनामा दिँदैमा वा बर्खास्त हुँदैमा उसले गरेको अपराध क्षम्य नहुने स्पष्ट पारे । गिरीले कानूनी कठघरामा उभिएर दण्ड भोग्नैपर्ने उनको भनाई छ । आफ्नो मुद्दा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले निःशुल्क लडिदिने वचन दिएको पनि उनले जानकारी गराए । 
कार्यक्रममा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले रमेश प्रसाई राष्ट्रवादी व्यक्ति भएको र उनको प्रत्येक आवाज र ढुकढुकीमा मुलुक बोलिराखेको हुने सुनाए । भण्डारीले भने, ‘मुलुकप्रति भएको अन्याय उहाँ सहन सक्नुहुन्न । उहाँको यो पुनित भावना छ । र, रमेश प्रसाईजीप्रति मेरो ज्यादै ठूलो श्रद्धा र सम्मान छ । त्यही भएर म उहाँको कानून व्यवसायी भएर सहयोग गर्न पाउँदाखेरि मैले आफूलाई खुशी मात्रै होईन, गौरवान्तित ठानेको छु ।’ 

प्रसाईको जाहेरी असार ५ गते शुक्रबार टेकुमा दर्ता भएको उनले जनाए । भण्डारीले प्रसाईले दर्ता गराएको जाहेरी वाचन गरेर समेत सुनाएका थिए । उनले प्रसाईलाई साथ दिनको लागि सबैमा आग्रह र अपिलसमेत गरेका छन् । पत्रकार सम्मेलनको सञ्चालन भने जीवन विष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस