क्वारेन्टिन स्थललाई हिंसामुक्त बनाउन विशेष सुरक्षा सतर्कता

रासस

शुक्रबार, ०५ असार २०७७, ११ : २१
क्वारेन्टिन स्थललाई हिंसामुक्त बनाउन विशेष सुरक्षा सतर्कता

file photo

काभ्रेपलाञ्चोक । विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोक र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारी थालेका छन् । 

केन्द्र र पोष्ट काभ्रेपलाञ्चोकमा रहेका क्वारेन्टिन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारी थालिएको हो । जिल्लाका क्वारेन्टिनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टिन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।” 

तिमल्सिनाका अनुसार सबै क्वारेन्टिनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । “क्वारेन्टिन सुरक्षाको अनुगमन भइरहेको छ भने कडा सुरक्षा रणनीतिबारे योजना बनाउँदैछौँ”, उहाँले भन्नुभयो । उहाँले क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य सामग्री उपलब्धतामा समेत प्राथमिकता दिइएको बताउनुभयो । केन्द्रका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा २९ महिलासहित ८६ जना बसेका छन् । 

यसैबीच, दुई साता अघि काभ्रेपलाञ्चोकका पाँचमा कोरोना सङ्क्रमण देखिएपछि पोष्टले क्वारेन्टिनको स्वास्थ्य सुरक्षाबारे नियमित अनुगमन गरिरहेको छ । “नियमित अनुगमन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएपछि थप सङ्क्रमण फैलिएको छैन”, पोष्ट सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० कक्ष क्षमताको बनाउने तयारी गरिएको हो । 

साथै, तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलस्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । यस क्वारेन्टिनमा हाल स्वाब सङ्कलन बुथसमेत राखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०३ बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ । आठ बेडको धुलिखेलमा १५ र पाँच बेडको शिरमेमोरियलमा १० बेड आइसोलेन कक्ष बनाउने तथा मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलस्थित विद्यालयमा दश÷दश बेड आइसोलेशन बेड व्यवस्थित बनाउन लागिएको पोष्टले जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस