कोरोना सङ्क्रमित महिलाको शव व्यवस्थापन

रासस

विहीबार, ०४ असार २०७७, २० : १३
कोरोना सङ्क्रमित महिलाको शव व्यवस्थापन

काठमाडौं । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको शव आज व्यवस्थापन गरिएको छ ।  मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी कैलालीे जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते मृत्यु भएको थियो । पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शव बाँकेमै व्यवस्थापन गरिएको  प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शव बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सामुदायिक वनमा नेपाली सेनाको विशेष टोलीले सम्मानका साथ व्यवस्थापन गरेको हो । शिक्षण अस्पतालमा यसअघि असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । उनको शव नेपाली सेनाकै टोलीले बाँके र बर्दियाको सीमा मानखोला नजीकैको जङ्गलमा लगेर बुधबार अन्त्येष्टि गरिएको थियो । 

गुल्मीमा थप ४६ मा सङ्क्रमण 
गुल्मीमा १०५  जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा आज थप ४६ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्ख्या बढेको हो । 

गाउँपालिका छत्रकोटमा २४, चन्द्रकोटमा १७, गुल्मीदरबारमा दुई एवं सत्यवती र  रुरुक्षेत्रमा एकएक तथा नगरपालिका रेसुङ्गामा एक जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो  । उनीहरु भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्ति रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस