सुर्खेत र अर्घाखाँचीमा आत्महत्या गर्ने दुबै जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रासस

बुधबार, ०३ असार २०७७, २१ : ४७
सुर्खेत र अर्घाखाँचीमा आत्महत्या गर्ने दुबै जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । सुर्खेत र अर्घाखाँचीमा दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने दुबै जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

भारतबाट आएकी सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । 

भारतबाट जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आउँद्या उनी घर फिर्ता भएकी थिइन् । तर जेठ ३० गते घरबाट हराएको उनी असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

उनको फेरि स्वाब सङ्कलन गरिएर परीक्षण गरिएकोमा बुधबार  रिपोर्टमा कोरोना पोजिटिभ आएको हो । 

यस्तै, अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पनि पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगङ्गा नगरपालिका ५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । उनले गएराति आत्महत्या गरेका थिए । 

यसैबीच कैलालीको लम्की चुहा नगरपालिका २ की ४३ बर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । 

न्यूरोसम्बन्धी समस्याका कारण उनलाई  नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएकोमा त्यही मृत्यु भएको हो ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस