बजेट बढ्यो तर सिजनमा जहिल्यै मल अभाव

पत्रपत्रिकाबाट

शनिबार, ३१ जेठ २०७७, ०७ : १७
बजेट बढ्यो तर सिजनमा जहिल्यै मल अभाव

काठमाडौँ । सरकारले रासायनिक मल खरिदमा उच्च प्राथमिकताका साथ बजेट बढाए पनि सिजनमा जहिल्यै अभाव हुने गरेको छ । मल खरिद गर्न चालु आर्थिक वर्षमा सरकारले करिब ७ अर्ब अनुदान दिएको थियो । रकम अपुग भएपछि अर्थ मन्त्रालयले थप २ अर्ब अनुदान दियो । आव ०७७/७८ का लागि पन ११ अर्ब रुपैयाँ विनियोजन भएको छ । तर मलको समस्या जस्ताको त्यस्तै छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू भने लकडाउनले मल अभाव भएको दाबी गर्छन् । ‘विगतको तुलनामा बजेट राम्रो थियो । समयमै टेन्डर/एलसी खोलेका थियौं,’ मन्त्रालयका कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका वरिष्ठ कृषि प्रसार अधिकृत शिरीष पुनले भने, ‘तर लकडाउनले श्रमिक नपाउँदा समयमै आयात गर्न सकेनौं ।’

मन्त्रालयका अनुसार जेठ, असार र साउनमा सबैभन्दा बढी मल चाहिन्छ । तर पर्याप्त भण्डारण गरिएको छैन । ‘युरिया करिब १० हजार र डीएपी १२ हजार मात्रै छ । उक्त परिमाण घट्दै गएको छ,’ उनले भने, ‘माग अत्यधिक छ । केही मौज्दात राख्नुपर्ने भएकाले सीमित मात्रामा वितरण गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस